१. मुलुकको आर्थिक सम्मुन्नति र सामाजिक रुपान्तरणको इञ्जिन मानिने ‘विज्ञान तथा प्रविधि’ को महत्वलाई ह्रदयंगम गरी हाम्रो देशमा मनाइन गइरहिएको यो पहिलो राष्ट्रिय विज्ञान दिवस(National Science Day)मा यहाँ उपस्थित वैज्ञानिक तथा प्राविधिकहरु बीच आफ्ना केही विचारहरु राख्ने अवसर पाएकोमा आफूलाई गौरवान्वित महशुस गरेकोछु । मलाई यो मौका प्रदान गर्ने आयोजक समितिलाई धन्यवाद दिन पनि चाहन्छु । आज असोज १ गते यसरी तपाईहरुको अगाडि उभिरहँदा यस क्षेत्रमा विशेष योगदान पु¥याउनु हुने अमृतप्रसाद प्रधान लगायत अन्य वैज्ञानिक तथा प्राविधिकहरुलाई स्मरण गर्दै उहाँहरुप्रति आदरभाव प्रकट गर्दछु ।
२. एक्काईसौ शताब्दी ज्ञानमा आधारित समृद्ध समाज निर्माणको शताब्दी बन्दैछ । समृद्ध समाज वैज्ञानिक ज्ञान तथा प्राविधिक क्षमतामा भरपर्ने हुनाले मैले मेरो प्रस्तुतीको विषय ‘राष्ट्र निर्माणमा विज्ञान तथा प्रविधि’ चयन गरेको छु । समृद्धिका हिसावले विश्व मानचित्रमा हिजो हामी कहाँ थियौं, आज कहाँ छौं, आज हामी जहाँ छौं, त्यहाँ किन छौं ? वर्तमानमा मुलुकको आन्तरिक तथा वाह्य परिवेश कस्तो छ ? यी कुराहरुको विवेचनाबाट मात्र आम नेपालीको चाहना बमोजिम आर्थिक–सामाजिक रुपान्तरण सहितको नयाँ नेपाल निर्माणमा विज्ञान तथा प्रविधिको भूमिकालाई एकाकार गर्न यस सम्बन्धी राष्ट्रले के के नीति, रणनीतिहरु अबलम्वन गर्न जरुरी हुन्छ, योजना तथा कार्यक्रमहरु बनाउनु पर्दछ भन्ने कुराहरुको निक्र्यौल गर्न सहज हुन्छ ।
नेपालः विगत र वर्तमान
३. सम्पूर्ण वैज्ञानिक तथा प्राविधिक साथीहरु, धेरै पहिलेको कुरा नगरी केवल ४०/५० वर्ष अगाडि अर्थात १९६५–७० तिर हेर्दा पनि दक्षिण कोरिया, चीन, भारतको प्रतिव्यक्ति आय नेपालको हाराहारीमा अर्थात ७०–८० डलर थियो । आज हाम्रो प्रतिव्यक्ति आय ७०० डलर जति पुगेको छ, कोरियाले भने यो अवधिमा प्रतिव्यक्ति आय २२ हजार भन्दा बढी पुयाइसकेको छ । चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्र बनिसकेको छ, भारतले गत केहि दशक देखि अभूतपूर्व गतिमा आर्थिक विकास गरिरहेको छ । ४०/५० वर्ष पहिले नेपालको वस्तु तथा सेवाको आयात तथा निर्यातको स्थिति मोटामोटी सन्तुलनमा थियो तर हाल आएर आयात तथा निर्यातको अनुपात ८:१ र व्यापार घाटा कुल ग्राहस्थ उत्पादनको २० प्रतिशत भन्दा पनि बढी पुगिसकेको छ । समृद्धिका सूचकहरु, मानव विकास सूचकाङ्क होस् वा प्रतिव्यक्ति आय, हामी विश्वका पुछारका १५/२० देशहरुमा पर्दछौं ।
नेपालमानै रहेका आम कृषकहरुले कृषि उत्पादनमा गर्ने मूल्य अभिबृद्धि (Value Addition)एकदम न्यून अर्थात २५० डलर प्रतिव्यक्ति रहेको छ जवकि विश्वको यो औसत १२०० डलर छ । सन् १९६० तिर हामी प्रति हेक्टर झन्डै २ टनका दरले अन्नपात उब्जाउथ्यौं, जुन समयमा चीन र भारतको उक्त उत्पादकत्व १ टन जतिमात्र थियो । आज ५० वर्षपछि त्यो दर चीनको ६ टन, भारतको पनि ३ टन पुगेको छ, हाम्रो भने केवल २.५ टन प्रति हेक्टरमा सिमित रहेको छ । यसको परिणति कृषि प्रधान देश नेपालले वर्षको ५० औं अर्बको अनाज, सागपात र फलफूल आयत गर्नु परिरहेको छ ।
जलस्रोतको धनी देशमा दैनिक १५/१६ घण्टा लोडसेडिङ्ग हुन्छ, जडीबुटीमा धनी देश नेपालले अर्बौको औषधि आयात गर्नु परिरहेको छ । यति गर्दा पनि दूरदराजका नेपालीले सिटामोल नपाएर अकालमा ज्यान गुमाउनु परेको छ । अझै एक तिहाई भन्दा बढी (३४ प्रतिशत) नेपाली निरक्षर छन् । यस्ता शिक्षा तथा स्वास्थ जस्ता सेवाहरुबाट दुर्गम वस्तीका जनता, गरीव निमुखाहरु र महिलाहरु अझ बढी बन्चित छन् ।
४. दुई करोड ६५ लाख जनसंख्या भएको नेपालमा सक्रिय जनशक्ति ५७ प्रतिशत जति अर्थात डेढ करोड जति छ । यो संख्यामा मेहनती जनता कुनै देशमा हुनु भनेको त्यो देश जनशक्तिमा सवल हुनु हो । परन्तु रोजगारी र क्षमता अनुसारको अवसरको अभावले वर्षेनी लाखौं युवाहरु खाडी मुलुकतिर वा मलेसियातिर कामका खातिर भौतारिनु परेको छ । यसैगरी हजारौं उत्कृष्ट युवा वैज्ञानिक तथा प्राविधिकहरु उचित अवसरको खोजिमा यूरोप, अमेरिकातिर गइरहेका छन्, प्रतिभा पलायन भइरहेको छ । यसरी विदेशीएका युवाहरुले तिनै देशको आर्थिक–सामाजिक समृद्धिमा योगदान पुयाइरहेका छन् । यता प्रशस्त जल, उर्वर जमीन, घना जंगल, थुप्रै उपयोगी जडीबुटी, जैविक विविधता, उपयुक्त जलवायु र यसलाई प्रयोगमा ल्याउन सक्ने मिहिनेती जनशक्ति हुदाहुँदै पनि हाम्रो मुलुक भने दिनानुदिन गरिवीको भूमरीमा फस्दै गइरहेको छ ।
मुलुकको दुरावस्थाको कारण
५. उपस्थित मित्रहरू, विश्वका धेरै देशहरु औद्योगिकीकरण तर्फ लागिरहँदा, दलाल तथा नोकरशाही चरित्र बोकेको सामन्ती राज्यसत्ता, जुन विगत २५० वर्षसम्म नेपालमा रह्यो, त्यसले राष्ट्रिय पूंजिवादको त कुरै छोडौं, बुर्जुवा पूंजीवादको विकास गर्नतिर पनि लागेन । फलस्वरुप उत्पादक शक्तिहरुको अल्पविकास, औद्योगिक विघटन, वैदेशिक ऋणको दुष्चक्र र अकल्पनीय व्यापार घाटाबाट देश गुज्रन पुग्यो । केन्द्रीकृत एकात्मक सामन्ती राज्यसत्ताले उसको चरित्र अनुसार कृषिमा रुपान्तरण गरी यसलाई व्यवसायीकरणतर्फ उन्मुख गराउन नसक्नु, औद्योगिक विकासमा जोड नदिनु र ऊर्जा, यातायात आदि पूर्वाधारहरुको विकासमा नजरअन्दाज गर्नु तथा यी सबै क्षेत्रहरुको द्रुततर विकासका लागि जरुरी विज्ञान तथा प्रविधिको आवश्यकतालाई आत्मसात गर्न नसक्नुले नै आज हामी यो दूरावस्थामा रहनु परेको हो भन्ने मेरो बुझाइ रहेको छ ।
मुलुकको आवश्यकता
६. अहिले सामन्ती व्यवस्थाका केही अवशेषहरु बाँकी रहे पनि मूलतः यो ढलिसकेको अवस्थामा छ । अब समाजवाद उन्मुख राष्ट्रिय औद्योगिक पूंजिवादको विकास गरी मुलुकलाई आर्थिक समृद्धितर्फ लैजानु आजको आवश्यकता हो । यसका लागि जल, जमीन, खनिज पदार्थ जस्ता प्राकृतिक स्रोतहरु र मुलुकमा मौजुदा जनशक्तिको मूल्य अभिबृिद्ध जरूरी हुन्छ । त्यसैगरी औद्योगिक क्षेत्र तथा जैविक–प्रविधिमा क्रान्ति गरी मुलुकलाई आवश्यक वस्तुहरु र सेवाको उत्पादन गर्नु तथा मुलुकभित्र नै क्षमता अनुसारको रोजगारीको उपलब्धता हुने अवस्थाको विकास गरिनुपर्दछ । साथै विकासको आर्थिक प्रतिफलका साथै शिक्षा, स्वास्थ्य तथा सूचनालाई उत्पीडित वर्ग, लिङ्ग र क्षेत्रको पहुंचमा पुयाउनु आजको अर्को आवश्यकता हो । यी कार्यका लागि वैज्ञानिक ज्ञान तथा प्राविधिको प्रयोगले उत्प्रेरक (Catalyst)को भूमिका खेल्ने हुँदा नयाँ नेपाल निर्माणमा विशेष योगदान पुयाउने वैज्ञानिक तथा प्रविधिको क्षेत्रलाई सरकारले प्राथमिकताको क्षेत्रमा राख्नु पर्दछ भन्ने मेरो ठम्याई रहेको छ ।
७. उपस्थित वौद्धिक वर्ग, गन्तब्यहिन यात्राले कतै पनि पुयाउँदैन । विज्ञान तथा प्राविधिमा आधारित आर्थिक–सामाजिक रुपान्तरण सहितको नयाँ नेपाल निर्माणका लागि दुरदृष्टि (Long Vision)र त्यस भिजनलाई मूर्तरुप दिने तदनुसारका नीति तथा कार्यक्रमहरुको तर्जुमा गर्नु र तिनीहरुलाई कार्यान्वयनमा लैजानु जरुरी हुन्छ । स्पष्ट भिजन र वैज्ञानिक नीति छ भने त्यो मुलुकले छोटो समयमा पनि तिब्र आर्थिक विकास गर्न सक्दछ भन्ने कुरा दक्षिण कोरिया, चीन, मलेसिया जस्ता देशहरुको आर्थिक प्रगतिबाट सहजै बुझ्न सकिन्छ । हाम्रो मुलुकमा उपलब्ध प्राकृतिक संसाधन र जनशक्तिको सहि तबरले परिचालन हुने हो भने हामी पनि ती देशहरु जस्तै हाम्रो देशलाई छोटो समयमा रुपान्तरण गर्न सक्दछौँ भन्ने मेरो विश्वास रहिआएको छ । उच्च मनोबलका साथ हामी सबै लागि परेमा आगामी १०, २० र ४० वर्षमा नेपाली जनताको जीवनस्तरलाई मध्यमस्तर, उच्चस्तर र अति उच्चस्तरमा पुयाउन सकिन्छ भन्ने मलाई लाग्दछ ।
यो भनेको आगामी १० वर्षमा प्रत्येक नेपालीको सरदर आय प्रतिवर्ष ३,००० डलरको हाराहारीमा तथा आगामी २० र ४० वर्षभित्र यो आयलाई क्रमशः १८,००० र ४०,००० डलरसम्म पुयाउने भन्ने हो । अहिले ०.५५ मा रहेको मानव विकास सूचकाङ्कलाई आगामी १०, २० र ४० वर्ष क्रमशः ०.६५५, ०.८४९ तथा ०.९३७ मा पुयाउने भन्ने हो । अर्को शब्दमा आर्थिक विकासका क्षेत्रहरु साथै सामाजिक सेवाका क्षेत्रहरुको पनि तदनुरुप विकास गरी आर्थिक रुपमा सवल र सामाजिक रुपमा समतामूलक समाज निर्माण गर्ने भन्ने हो । हामी सरकारमा रहँदा थालेका राष्ट्रिय गौरवका आयोजनाहरु, साक्षरता अभियान, जनस्वास्थ उत्थानका लागि राखिएका कार्यक्रमहरु, १० वर्षमा १० हजार मेगावाट जलविद्युतको विकास गर्ने तथा प्रत्येक घरधुरीमा १० वर्षभित्र विजुली र ५ वर्षभित्र सबैलाई स्वच्छ खानेपानी पुयाउने, सडक तथा रेल यातायातको तिब्र विकास गर्ने, कृषिमा रुपान्तरण, स्वरोजगार तथा सहकारी जस्ता कार्यक्रमहरु यिनै दिशातिर परिलक्षित कार्यक्रमहरु हुन् ।
विज्ञान तथा प्रविधि विकास एवं प्रयोगका क्षेत्रहरु
८. जीव विज्ञान, भौतिक विज्ञान, रशायन विज्ञान, कृषि, वन, जैविक प्रविधि, वातावरण, ईन्जिनियरिङ्ग, तथा पूर्वाधार विकास, सूचना तथा प्रविधि, शिक्षा, स्वास्थ्य तथा सरसफाइ, चिकित्सा विज्ञान तथा समाजविज्ञान जस्ता जुनसुकै क्षेत्र विज्ञान तथा प्रविधि विकास एवं प्रयोगका क्षेत्रहरु हुनसक्छन र हुनुपर्दछ । वैज्ञानिक अनुसन्धान र आविष्कारले प्रविधि विकास र प्रविधि विकासले अनुसन्धानलाई सहज बनाउने अनि आधुनिक प्रविधि वैज्ञानिक आविष्कारमा आधारित हुने हुँदा यी दुईलाई एक अर्काका सहयोगीका रुपमा लिइन्छ, त्यसैगरी एउटा क्षेत्रको विकास अर्को क्षेत्रको विकासका लागि परिपूरक हुने र रहने हुँदा भविष्यमा कुनै पनि क्षेत्रलाई समुन्नत बनाउने कुरामा नजिक वा टाढा राख्नु हुँदैन । तर पनि खाद्यसुरक्षा तथा उर्जा सुरक्षा कायम गरी आत्मनिर्भर अर्थतन्त्र निर्माणलाई केन्द्रमा राख्दा, नेपालको सन्दर्भमा निम्न क्षेत्रहरुलाई तात्कालिन प्राथमिकताका क्षेत्रहरुमा राखी विकास गरिनु पर्दछ भन्ने मलाई लाग्दछ ।
क) कृषि तथा पशुपालन
हाल विद्यमान निर्वाहमुखी कृषि क्षेत्रलाई व्यावसायीकरण गर्न र खाद्य सुरक्षा प्रदान गर्न उत्पादन तथा उत्पादकत्व बढाउनु पर्दछ । कृषिलाई क्रमशः यान्त्रीकरणमा लैजानु आवश्यक छ, यसले कृषिक्षेत्रमा खपत भएको श्रमशक्तिलाई अन्य क्षेत्रमा लगाउन सकिने वातावरण सिर्जना गर्दछ । बालीनाली थन्क्याएपछि पनि २० प्रतिशत देखि ३० प्रतिशतसम्म अन्न सडेगलेर, पोखिएर, मुसा, कीरा आदिले खाएर नाश हुन जाने तथ्यलाई ध्यान दिँदा, पोष्ट हार्भेष्ट टेक्नोलोजीमा समेत यथेष्ट ध्यान दिनुपर्ने देखिन्छ । जलवायु परिवर्तनको परिप्रेक्ष्यमा तदनुरुपका वालीको विकास र मोबाईल, टेलिफोनजस्ता सुविधामार्फत मौसम संबन्धी जानकारी ९ब्नचय(बमखष्कयचथ० किसानहरुसम्म पु¥याइनु पर्दछ । खाद्य सुरक्षानिम्ति अत्याधुनिक जीन बैंक र सीड बैंकहरु सञ्चालनमा ल्याइनु पर्दछ ।
ख) जलस्रोत तथा ऊर्जा
स्वस्थ्य रहन मानिसको लागि स्वच्छ तथा पर्याप्त खानेपानी, उन्नत कृषिका लागि सिंचाइ तथा समग्र विकासका लागि ऊर्जा र ऊर्जा सुरक्षाका लागि जलविद्युतको विकास, जलउत्पन्न प्रकोपको न्यूनीकरण जस्ता जलस्रोतसँग सम्बन्धित क्षेत्रहरुको एकिकृत विकास गरेर मात्र सवृद्ध नेपालको निर्माण हुन सक्छ ।
ग) पर्यटन
मुलुकको अपार प्राकृतिक तथा साँस्कृतिक सम्पदाको उपयोग गरी पर्यटन उद्योगको विकास तथा विस्तार गरी मुलुकलाई आर्थिक रुपले सबल बनाउन सकिने अवस्था नेपालमा छ । पर्यटन सेवाका लागि आवश्यकीय वस्तुहरु अझ प्राङ्गारिक र स्थानीय उत्पादन मार्पत पर्यटनलाई हरित अर्थतन्त्रसँग जोड्न सकिए नेपालको पर्यटन मौलिक र आकर्षक बन्नेछ भन्ने मलाई लाग्दछ ।
घ) भौतिक पूर्वाधारको विकास
सडक, रेल, रोपवे, केबलकार जस्ता यातायातका माध्यमहरु, टेलिफोन, टीभी, रेडियो तथा इन्टरनेट जस्ता सञ्चारका साधनहरु, साना तथा ठूला नहरहरु, विद्युत प्रसारण तथा वितरण लाइनहरु, आधुनिक वस्ती विकास र भवनहरुको निर्माण जस्ता भौतिक पूर्वाधारहरुको विकासद्धारा मात्र आधुनिक अर्थतन्त्रको विकास सम्भव हुने हुनाले आधुनिक प्रविधिको प्रयोगमार्फत यस क्षेत्रको विकासमा विशेष रुपले ध्यान पु¥याउनु आजको आवश्यकता हो ।
ङ) औद्योगिकीकरण
दैनिक उपभोगका सामानदेखि लिएर पूर्वाधार विकासका लागि आवश्यक उपकरण तथा मेसिनरी सामानहरु देशभित्र उत्पादन गर्न सकिएमा मात्र यी बस्तु तथा सामानहरु सुपथ मुल्यमा उपलब्ध हुनसक्छ । मुलुक भित्रनै औषधी उत्पादन भएमा मात्र हामीलाई जडीबुटीको सही मूल्य प्राप्त हुनसक्छ । मुलुक भित्र उपलब्ध खनिज उद्योगहरुको विकासले धातु तथा गैरधातुजन्य आयतलाई कम गर्न मद्दत पु¥याउँछ । यसरी औद्योगिकीकरणबाट देशको अर्थतन्त्रलाई दरिलो बनाउन सकिन्छ ।
च) शिक्षा र स्वास्थ्य
शिक्षित तथा स्वस्थ्य जनता नै समृद्ध नेपालको मेरुदन्ड भएकाले शिक्षा तथा स्वास्थ्य सेवा आम नेपाली जनाताको पहुंचमा हुनसक्नुपर्दछ । देशभित्रै गुणस्तरीय शिक्षा दिने अवस्था विद्यमान हुँदाहुँदै ब्यवस्थापकीय कमजोरीले गर्दा वर्षेनी हजारौँ विद्यार्थीहरु विदेशमा पढ्नजान वाध्य भएका छन्, यसमा यथाशिघ्र सुधार ल्याउनु जरुरी भएको छ । आधुनिक सूचना तथा प्रविधिको प्रयोग गरी, दुर स्वास्थ्य एवं दुर शिक्षाका कार्यक्रमहरु मार्पत मुलुकका दुर्गम वस्तीका जनतासम्म गुणस्तरीय स्वास्थ्य सेवा, शिक्षा पु¥याउन सकिन्छ । स्वास्थ्य एवं साक्षरता अभियानलाई प्रभावकारी बनाउन सकिन्छ ।
छ) जलवायु परिवर्तन
विश्वमा भइरहेको जलवायु परिवर्तन र यसबाट पर्ने असरहरुबाट हामी अछुतो रहन सक्दैनौं । यसले कृषि तथा जलस्रोत, पूर्वाधार एवम् वातावरण, स्वास्थ्य तथा रोजगारी जस्ता क्षेत्रहरुमा पार्ने असरका बारेमा वैज्ञानिक अनुसन्धान अनुकूलनका उपाय र त्यस्ता असरलाई न्यूनीकरण गर्ने प्रविधिको विकास आजको अर्को अपरिहार्य कार्य बन्न पुगेको छ ।
यी सबै क्षेत्रहरुका विकासका लगि अनुसन्धान आवश्यक हुन्छ, उन्नत प्रविधिको प्रयोग जरुरी बन्छ ।
विज्ञान तथा प्रविधिको विकास सम्वन्धी रणनीति तथा योजनाहरु
९. देशको द्रुत आर्थिक विकास एवं आमूल सामाजिक रूपान्तरणको प्रक्रियामा प्राविधिक विकासलाई उत्पादनको मूल आधार तथा विज्ञान शिक्षालाई चेतनाको मेरूदण्ड बनाइनु पर्दछ । विज्ञान तथा प्रविधिले पूँजी उत्पादन गर्न, तिव्र आर्थिक वृद्धि कायम राख्न र नागरिकहरुको जीवनस्तर उकास्न महत्वपूर्ण भमिका निभाउने भएकाले यसको विकासको लागि सबैतिरबाट र विषेश गरेर राज्यको तर्फबाट ठोस पहल लिइनुपर्दछ ।
१०. वैज्ञानिक तथा प्राविधिकहरुको उत्पादन
केही समययता विज्ञान तथा प्रविधिमा हाम्रो जनशक्ति उत्साहवद्र्धक रुपमा वृद्धि भएको छ जुन करीब ५० हजारको हाराहारीमा पुगेको अनुमान गरिन्छ । तथापि अहिले देशभित्र नै रहेर यस क्षेत्रमा काम गर्ने नेपालीहरुको संख्या भने त्यति धेरै छैन । साथै, देशमा रहेको उक्त जनशक्ति पनि अनुसन्धान तथा विकासमा एकदम कम भएको तथ्याङ्कले देखाउँछ । विज्ञान तथा प्रविधिको विकास एवं सही प्रयोग, यस क्षेत्रमा काम गर्न सक्ने दक्ष जनशक्तिहरु भएमा मात्र सम्भव हुने भएकाले अब राज्य वैज्ञानिक तथा प्राविधिहरुको उत्पादन बढाउने र उनीहरुलाई देशमा नै सहज तरिकाले काम गर्न मिल्ने वातावरण बनाउनतिर लाग्नु पर्दछ ।
११. विज्ञान तथा प्रविधि नवप्रवर्तन केन्द्रहरुको स्थापना
संस्थागत विकास विना विज्ञान तथा प्रविधिको विकास हुन नसक्ने, जनशक्ति उत्पादन पनि हुन नसक्ने र भएका पनि देशमा टिक्न नसक्ने भएकाले अब हामीले विज्ञान तथा प्रविधिका केन्द्रहरुको स्थापना गर्नतर्फ तुरुन्त पहल लिन आवश्यक छ । भारतकोIndian Institute of Technology (IIT),थाइल्याण्डको Asian Institute of Technology (AIT)तथा अमेरिकाकोMIT जस्ता प्रविधिक विषयहरु पढाइहुने अध्ययन संस्थानहरु १० वर्षभित्र हरेक संघीय राज्यमा १–१ वटा हुनेगरी योजना बनाउनु पर्दछ भन्ने मलाई लाग्दछ । यसलाई बढाएर अर्को २० वर्षमा ३–३ वटा र ४० वर्षमा ७–७ वटा को हाराहारीमा विभिन्न विषयहरुमा अध्ययन, अनुसन्धान तथा प्रविधिको विकास गर्ने यस्ता संस्थाहरु पुयाउनु पर्दछ ।
१२. विज्ञान तथा प्रविधिमा लगानी
अनुसन्धान तथा विकासमा विभिन्न देशले गर्ने गरेको लगानी हेर्दा यस क्षेत्रमा बढी लगानी गर्ने मुलुक आर्थिक रुपले बढी सम्पन्न रहेको देखिन्छ । जस्तै जापानले आफ्नो कूल ग्राहस्थ उत्पादनको ३.४ प्रतिशत, अमेरिकाले २.८ प्रतिशत, कोरियाले ३.२ प्रतिशत जति यस क्षेत्रमा लगानी गर्ने गरेको तथ्य र चीनले हालको १.४ प्रतिशतबाट बढाएर सन् २०२० मा २.५ प्रतिशत लगानी पुयाउने लक्ष्य लिएबाट विज्ञान तथा प्रविधिमा गर्ने लगानीको आवश्यकता बोध हुन्छ । यसको दूरगामी महत्वलाई ध्यान दिँदा, विज्ञान तथा प्रविधिको क्षेत्रमा लगानी आगामी १० वर्षमा कम्तीमा हाम्रो न्म्ए को १ प्रतिशत, २० वर्षमा २ प्रतिशत, ४० वर्षमा ३ प्रतिशत पुयाउनु पर्दछ भन्ने लाग्दछ । यस्तो लगानी आधारभूत विज्ञानमा राज्यले र व्यवहारिक विज्ञानमा नीजि क्षेत्रबाट समेत गरिनु व्यवहारिक देखिन्छ ।
१३. राज्यले सही नीति बनाउने र दृढ इच्छा शक्ति राख्ने हो भने विज्ञान तथा प्रविधिको विकासको कार्य सम्भव छ भन्ने कुरा चीनको उदाहरणले पनि देखाउँदछ । सन् १९४९ मा चीनमा करीव ५० हजार वैज्ञानिक तथा प्राविधिकहरु रहेको पाइन्छ, जसमध्ये ५०० जना मात्र देशमा भएका ३० वटा विज्ञान तथा प्रविधि केन्द्रहरुमा काम गर्ने गरेको देखिन्छ । ५,६ वर्ष पछि सन् २०५५ मा त्यस्ता केन्द्रको संख्या ८४० पुगेको, सन् २०६५ मा १६०० पुगेको देखिन्छ । सन् १९९८ मा आइपुग्दा राज्य अन्तर्गतका यस्ता संख्या ५,५७८ पुगेको देखिन्छ । यी संस्थामा करीब ६ लाख कर्मचारी काम गर्ने गरेको पाइएकोमा, वैज्ञानिक तथा ईन्जिनियरहरु ६२ प्रतिशत जति रहेको तथ्यबाट किन चीनले यति छिटो प्रगति गर्न सक्यो भन्ने कुरा सहजै बुझ्न सकिन्छ ।
१४. यसर्थ, देशको समष्टिगत विकासको लागि विज्ञान तथा प्रविधि परिचालन गर्न निम्न तीन अंकुशीय नीति तथा कार्यक्रमहरू अबलम्बन गरिनु बाञ्छनीय देखिन्छः
१.नीति तथा योजना तर्जुमा र कार्यान्वयन
१.१ एक समृद्ध नयाँ नेपाल निर्माणका निम्ति आवश्यक कल्पनाशील र स्वप्नदर्शी विज्ञान तथा प्रविधिको रणनीति सहित गुरु योजनाको तर्जुमा गरी तिनको कर्यान्वयन गर्ने ।
१.२ राष्ट्रिय योजनामा विज्ञान तथा प्रविधि क्षेत्रलाई प्राथमिकताको क्षेत्रको रुपमा उल्लेख गर्ने र योजना तर्जुमामा वैज्ञानिक तथा प्राविधिकहरूको समुदायलाई सहभागी गराउने ।
१.३ संसदमा विज्ञान तथा प्रविधि समिति बनाउने तथा प्रविधि आयात र अनुसन्धान प्रवद्र्धनलाई सहज एवं देशको हित अनुकूल बनाउन आवश्यक ऐन कानूनहरूको व्यवस्था गर्ने ।
१.४ अनुसन्धान तथा विकासमा माथि उल्लेख गरिए जसरी लगानी पुयाउने व्यवस्था गर्ने ।
१.५ राष्ट्रिय प्रतिभाहरुलाई वैज्ञानिक अनुसन्धान तथा प्रविधि विकास, आविस्कार र नवप्रर्वतनमा संलग्न रहन उपयुक्त वातावरणको सृजना गर्ने
२. विज्ञान शिक्षा तथा तालिम सञ्चालन
२.१ उच्च माध्यामिक विद्यालयसम्म विज्ञान विषयमा सबैको पहूँच पुयाउने तथा विज्ञान शिक्षालाई व्यवहारिक र रुचिकर तुल्याउन सबै विद्यालयहरूमा विज्ञान प्रयोगशालाहरू बनाउने तथा ती प्रयोगशालाहरुलाई वैज्ञानिक चेतना उठाउने अध्ययन केन्द्रको रुपमा विकास गर्ने ।
२.२ प्राविधिक तालिम र व्यवसायिक शिक्षालाई सर्बसुलभ बनाई शीप अभिवृद्धि गरी रोजगारीको स्तर उठाई बढी उत्पादनशील बनाउने ।
२.३ उच्च शिक्षातर्प स्नातकोत्तर कार्यक्रमलाई अनुसन्धानमूखी बनाउने र विश्वविद्यालय तथा अनुसन्धान प्रतिष्ठान बीचको ढोका खुल्ला राखी एक संस्थाका विशेषज्ञ÷अनुसन्धानकर्मीहरू अर्को संस्थामा कार्य गर्न सहज वातावरण बनाउने ।
२.४ जनमानसमा वैज्ञानिक चेतना विस्तारको लागि ग्रामीणस्तरसम्म विज्ञान केन्द्रहरूको स्थापना गर्ने र विद्यालय मार्पत विज्ञान अभियान सञ्चालन गर्ने, सञ्चार माध्यममार्पmत जनस्तरसम्म उपयोगी विज्ञान तथा प्रविधिका सूचनाहरू प्रसार गराउने ।
२.५ हाम्रा दैनिक आचरण र संस्कारमा रहेका अवैज्ञानिक र अन्धविश्वासी कार्यहरु रोक्ने अभियान चलाउने । उदाहरणको लागि, नयां घरको जग वसाल्दा भूमिपूजा गर्ने चलन आदि, वन्द गर्ने ।
३. वैज्ञानिक तथा प्राविधिक क्षमता विकास
३.१ विभिन्न निकाय अन्तर्गत सेवा प्रदान गर्दै आएका प्रयोगशालाहरूलाई सदृढ गरी राष्ट्रियस्तरका अनुसन्धानशाला बनाउने र हालको संस्थागत संरचनामा सुधार गरी ती अनुसन्धानशालालाई स्वायत्त र प्राज्ञिक संस्था अन्तर्गत व्यवस्था गर्ने ।
३.२ उच्च पर्वतीय पारिस्थितिकीय प्रणाली, जैविक विविधता, जलस्रोत जस्ता नेपालको विशेषता रहेको विषयमा अन्तर्राष्ट्रिय स्तरको अनुसन्धान केन्द्र विकास गरी त्यस्ता विषयलाई राष्ट्रको पहिचान क्षेत्र बनाउने । साथै भौगोलिक विशेषता अनुसार क्षेत्रगत अनुसन्धान कार्यक्रमहरु सञ्चालन गर्ने ।
३.३ नतिजामूलक अनुसन्धानमा जोडदिई तिनका उपलब्धीहरू प्रयोगशाला देखि भूमि तथा उद्योगमा पु¥याई अनुसन्धानलाई बजारयोग्य वस्तुमा रूपान्तरण गर्ने तथा उच्च प्रविधिमा आधारित उद्योगहरुलाई बढावा दिई न्यून तौल अधिक मुल्यका निर्यातजन्य सामग्रीहरु उत्पादन गरी अर्थतन्त्रलाई बलियो बनाउने ।
३.४ अन्तर्राष्ट्रिय सहयोग एवम् विदेशमा कार्यरत नेपाल विशेषज्ञहरू समेत संलग्न गराई अघिल्लो पंक्तिका वैज्ञानिक तथा प्राविधिक ज्ञान सञ्चय गरी देशका प्रतिभाहरूलाई त्यसतर्प दत्तचित्त गराउने ।
३.५ देशलाई स्वाभीमान र आत्मनिर्भर बनाउन स्वदेशी क्षमता (Endogenous Capacities)को अभिवृद्धि गर्ने र राष्ट्रिय सुरक्षा प्रणालीलाई सघाउने उद्देश्यले देशको आफ्नै भू–उपग्रह स्थापित गर्न अग्रसरता लिने ।
१५. उपसंहार
विश्व अहिले धनी र गरीव दुई खेमामा विभाजित छ । एकातिर धनी वा विकसित राष्ट्रहरु थोरै छन् र त्यहाँको जनसंख्या विश्वको करीब २० प्रतिशतमात्र छ भने अर्कातिर गरीव वा निर्धन राष्ट्रहरु धेरै छन् र जनसंख्या पनि धेरै छ, जबकी ती थोरै धनी राष्ट्रहरुले विश्वको ८० प्रतिशतजस्तो स्रोतहरु उपभोग गर्दछन् र धेरै संख्याका गरीब राष्ट्रहरुले थोरैमात्र स्रोतको उपयोग गर्न पाउँदछन् । नोबेल पुरस्कार विजेता प्रा. अब्दुस सलामका अनुसार यी धनी र गरीव राष्ट्रहरुको भिन्नता भनेको मूलतः ती दुईवीच रहेको विज्ञान तथा प्रविधिको क्षमता हो । केही राष्ट्रहरु किन धनी र उनीहरुकोे जीवस्तर राम्रो छ भने तिनले विज्ञान र प्रविधिको विकासलाई विशेष प्राथमिकता दिएर लगानी गरेको हुन्छ, धेरै राष्ट्रहरु किन गरीव छन् भने विज्ञान र प्रविधिमा तिनले ध्यानै दिन सकेका छैनन् । यतिखेर हामी गरीव छौं, तर हाम्रो देश आफै भने गरीव छैन । हामीले हाम्रो भूगोल र प्रकृतिको समुचित प्रयोग ग¥यौं भने हाम्रो विकास टाढा छैन, विज्ञान तथा प्रविधिमा हाम्रो प्राथमिकता र लगानी भने जरुरी छ, त्यसका लागि प्रतिबद्ध बनौं ।
विज्ञान तथा प्रविधिको जगमा मात्र नयां सम्वृद्ध नेपालको निर्माण सम्भव छ भन्ने सवैले आत्मसात गरौं । यो प्रथम राष्ट्रिय विज्ञान दिवसको अवसरमा सवैले कमसेकम आआफ्नो घरपरिवार र कार्यालयहरुमा वैज्ञानिक चेतना र संस्कार (scientific temperament) अभिवृद्धि गर्ने र सवैखाले अवैज्ञानिक र अन्धविश्वासी संस्कार र वानिव्यहोरा परित्याग गर्ने प्रण गरौं । हजार माइल लामो यात्रा पहिलो कदमबाट शुरु हुन्छ भने झैं विज्ञान र प्रविधिको विकासको लागि हामी सवैको त्यो निजी प्रयत्न ठूलो ऐतिहासिक अभियानको शुरुवात हुनेछ । हामीले नगरे कसले गर्ने ? आज नगरे कहिले गर्ने ? हामीबाटै शुरु गरौं, आजैबाट शुरु गरौं ।
घर घरमा विज्ञान, समृद्ध नयाँ नेपालको निर्माण !
धन्यवाद !
२०७० असोज १