काँग्रेस नेता मायालु एकीकृत माओवादीमा

काठमाण्डु टुडे २०७० असोज १ गते १४:२४ मा प्रकाशित

काठमाण्डु, १ असोज– पूर्वमन्त्री एवम् काँग्रेस महासमिति सदस्य खेमराज भट्ट मायालु र एमाले पूर्वसांसद् ध्रुव लम्साल एकीकृत माओवादी प्रवेश गरेका छन् ।
Khem-raj-bhatta-finalमाओवादी मुख्यालय पेरिसडाँडामा मंगलबार आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनीहरुलाई टीका र अबिर लगाएर पार्टी प्रवेश गराए । मायालु स्वर्गीय रामराजाप्रसाद सिंहको जनवादी मोर्चाबाट काँग्रेस प्रवेश गरेका थिए । उनी २०५८ सालमा गठित शेरबहादुर देउवा नेतृत्वको सरकारमा सामान्य प्रशासनमन्त्री थिए । पञ्चायती व्यवस्थाविरोधी आन्दोलनका क्रममा उनी पटकपटक जेलसमेत परेका थिए ।

उनले  ०५६ सालको प्रतिनिधिसभा निर्वाचनमा काँग्रेसका तर्फबाट बर्दिया क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । सुरुमा काँग्रेस पृष्ठभूमिका उनले २०३० सालतिर रामराजाप्रसाद प्रसाद सिंहसँग मिलेर जनवादी मोर्चा निर्माण गरेका थिए । तर उनी २०५३ सालमा फेरि नेपाली काँग्रेसमै फर्किए ।
यस्तै लम्सालले २०५१ सालमा भएको मध्यावधि निर्वाचनका क्रममा एमालेका उम्मेद्वारका रुपमा काँग्रेस नेता गोपालमान श्रेष्ठलाई पराजित गरेका थिए । कार्यक्रममा मायालुले गिरिजाप्रसाद कोइरालाको निधनपछि आफू टुहुरो भएको र अभिभावकको खोजीमा एमाओवादी प्रवेश गरेको बताए । पार्टी प्रवेश कार्यक्रममा माओवादी अध्यक्ष प्रचण्डले मोहन वैद्य नेतृत्वको माओवादीमा लागेका अधिकांश नेता कार्यकर्ता पूरानै घर फर्कने क्रम तीव्र बनेको बताए ।

उनले सैद्धान्तिक रुपमा जटता र मनोगतवादको शिकार भएको वैद्य माओवादीका अधिकांश राज्य र जिल्लातहका कार्यकर्ता आफ्नो पार्टीमा आउने र अन्तिममा दुई पार्टी एक हुने दाबी गरे । पार्टी फुटाएर वैद्य समूहको नियत जेसकै भए पनि पार्टी फुटले प्रतिक्रियावादीलाई फाइदा पुगेको उनको भनाइ थियो । जनताले अफ्नो पार्टीप्रति ठूलो आशा राखेको र त्यसलाई पूरा गर्न आफू इमान्दारीपूर्वक लागि परेको भनाइ प्रचण्डको  थियो । आफ्नो पार्टीलाई मुलुकले सुम्पिएको जिम्मेवारी संविधानसभाबाट नयाँ संविधान जारी गरेर पूरा गर्ने उनले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us