अमेरिकी र चिनियाँ राजदूतबाट प्रचण्डसँग भेट

काठमाण्डु टुडे २०७० असोज १ गते १३:४७ मा प्रकाशित

काठमाण्डु, १ असोज – नेपालका लागि अमेरिका र चिनियाँ राजदूतले एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटी नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गरेका छन् ।
rajdoot-finalअमेरिकी राजदूत विलियम पिटर बोड्डे र चिनियाँ राजदूत ऊ छुन्थाई प्रचण्डलाई भेट्न मंगलबार उनको लाजिम्पाटस्थित निवास पुगेका थिए । छुट्टाछुट्टै भएको भेटमा दुवै राजदूतले आगामी ४ मंसिरमा घोषित संविधानसभा निर्वाचनको सुनिश्चितताबारे चासो राखेका थिए । जवाफमा प्रचण्डले तोकिएकै मितिमा निर्वाचन हुनेमा आशंका नगर्न आग्रह गरेका थिए । प्रचण्डले सरकार र निर्वाचन आयोग तोकिएकै समयमा निर्वाचन हुने गरी तयारीमा जुटेको तथा उच्चस्तरीय राजनीति समिति निर्वाचनको वातावरण निर्माणमा सक्रिय रहेको बताएको उनको निजी सचिवालयले जनाएको छ ।

प्रचण्डले दुवै राजदूतलाई निर्वाचन प्रक्रियामा असहमत मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीलाई सहमतिमा ल्याउने प्रयास जारी रहेको र अन्तिमसम्म वैद्य माओवादी पनि निर्वाचनमा सहभागी हुनेमा आफू आशावादी रहेको बताएका थिए । भेटका अवसरमा उनले संविधानसभा निर्वाचनका लागि अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त सहयोग र चासोबारे खुसी व्यक्त गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us