राष्ट्रपतिबाट बाधाअड्काउ फुकाउ अध्यादेश स्वीकृत

काठमाण्डु टुडे २०७० असोज २ गते १:०२ मा प्रकाशित

काठमाण्डु, १ असोज – राष्ट्रपति रामवरण यादवले मन्त्रिपरिषद्को सिफारिसमा मंगलबार बाधाअड्काउ फुकाउ अध्यादेश संशोधन गरेका छन् ।
rambaranत्यसअघि दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले दलहरुबीच भएको सहमतिअनुसार संविधान संशोधनको बाधाअड्काउ अध्यादेश सिफारिस गरेको थियो । मन्त्रिपरिषद् बैठकलगत्तै बाधाअडकाउ फुकाउ अध्यादेश पेस गर्न मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मी शीतलनिवास पुगेका थिए । यो सँगै संविधानसभा सदस्य संख्या ६ सय १ नै हुने भएको छ । संविधानसभामा प्रत्यक्षबाट २ सय ४० र समानुपातिकतर्फबाट ३ सय ३५ हरनेछन् ।

यस्तै सरकारको सिफारिसमा राष्ट्रपतिले राष्ट्रिय जीवनमा महत्वपूर्ण योगदान पु¥याउने २६ जना मनोनित हुनेछन् । संविधानको धारा १५८ बमोजिम बाधाअड्काउ फुकाउ आदेश जारी हुनुअघि संविधानको धारा ६३ को को उपधारा (३) बमोजिम कायम रहेको संविधानसभाको सदस्य संख्या ६०१ रहने गरी नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट बाधा अड्काउ फुकाउन जारी भएको आदेशको प्रकरण नं. १० र ११ खारेज गर्ने गरी यो आदेश जारी भएको छ, राष्ट्रपति कार्यालयबाट मंगलबार साँझ जारी विज्ञप्तिमा भनिएको छ  ।
यसअघि मुख्य चार दलबीच गत फागुन अन्तिममा भएको ११ बुँदे सहमतिअनुसार १ चैतमा राष्ट्रपतिले संविधानसभामा सदस्य संख्या ४ सय ९१ हुने गरी अन्तरिम संविधान संशोधन गरेका थिए । तर उच्चस्तरीय समितिले निर्वाचन प्रक्रियाको विरोधमा रहेको उपेन्द्र यादव नेतृत्वको संघीय लोकतान्त्रिक मोर्चासँगको र अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीसँगको सहमतिमा संविधानसभा सदस्य संख्या ६ सय १ बनाउने सहमति गरेको थियो ।

त्यसअघि मंगलबार बिहान उच्चस्तरीय राजनीतिक समितिमा आवद्ध मुख्य चार दलका शीर्ष नेताले मन्त्रिपरिषद् अध्यक्षलाई बालुवाटारमा भेटी संविधानसभा सदस्य संख्या ६ सय १ हुने गरी संविधान संशोधन प्रक्रिया अघि बढाउन आग्रह गरेका थिए । मन्त्रिपरिषद बैठकलगत्तै मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले सितल निवास पुगेर सो प्रस्ताव राष्ट्रपति रामवरण यादव समक्ष पेस गरेका थिए।

राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिको पूर्ण पाठ

संविधानसभाबाट संविधानको निर्माण कार्य सम्पन्न नहुँदै संविधानसभा स्वतः विघटन भई व्यवस्थापिका-संसद्समेत कायम नरहेकोले नेपाली जनताले आफ्नो लागि आफैं संविधान बनाउने अधिकारको प्रत्याभूतिका लागि अर्को संविधानसभाको निर्वाचन सम्पन्न गर्न २०६९ साल चैत १ गते नेपालको अन्तरिम संविधान, २०६३ (यसपछि “संविधान” भनिएको) को धारा १५८ बमोजिम बाधा अड्काउ फुकाउन आदेश जारी भएको र सो आदेशको प्रकरण नं. १० मा संविधानको धारा ६३ को उपधारा (३) को खण्ड (ख) मा संविधानसभामा समानुपातिक निर्वाचन प्रणालीअनुसार तीन सय पैंतीस सदस्य निर्वाचित हुने व्यवस्था भएकोमा अर्को संविधानसभाको प्रयोजनका लागि समानुपातिक निर्वाचन प्रणालीअनुसार दुई सय चालीस जना सदस्य निर्वाचित हुने गरी र प्रकरण नं. ११ मा संविधानको धारा ६३ को उपधारा (३) को खण्ड (ग) मा राष्ट्रिय जीवनमा महत्त्वपूर्ण योगदान पुर्याएका विशिष्ट व्यक्तिहरूमध्येबाट मन्त्रिपरिषद्‍बाट छब्बीस जना मनोनयन गर्ने व्यवस्था भएकोमा अर्को संविधानसभाको प्रयोजनका लागि एघार जना मनोनयन गर्ने भन्ने व्यवस्था भएकोमा,
उल्लिखित आदेशको व्यवस्थाबाट संविधानसभाको निर्वाचनमा महिला, दलित, उत्पीडित जाति/आदिवासी जनजाति, पिछडिएको क्षेत्र, मधेसीलगायत अन्य वर्गसमेतको प्रतिनिधित्व र सहभागिता साविककोभन्दा अनुपात एवं प्रतिशत कम भई पूर्णरूपमा सुनिश्चित नभएको भनी विभिन्न क्षेत्र, समुदाय, राजनीतिक दलसमेतबाट सुझाव एवं माग प्राप्त भएको र अब हुने संविधानसभाको निर्वाचन पनि यसअघिको संविधानसभालाई निरन्तरता दिने उद्देश्यले हुने भएकोले उक्त सुझाव र मागसमेतलाई बिचार गरी सो सम्बन्धमा विभिन्न राजनीतिक दलहरूसँग भएको वार्ता तथा राजनीतिक दलहरूबीच भएको सहमतिसमेतका आधारमा उक्त मागलाई सम्बोधन गरी समावेशी र सहभागितामूलक व्यवस्थालाई पूर्ववत राखी संविधानसभाको निर्वाचनलाई सुनिश्चित गर्न बाधा परी सो बाधा फुकाउन बाञ्छनीय भएकोले,
अर्को संविधानसभा सदस्यको निर्वाचनबाट गठन हुने संविधानसभामा सम्वत् २०६९ साल चैत १ गते संविधानको धारा १५८ बमोजिम बाधा अड्काउ फुकाउने आदेश जारी हुनुभन्दा अघि संविधानको धारा ६३ को उपधारा (३) बमोजिम कायम रहेको संविधानसभाको सदस्य सङ्ख्या छ सय एक रहने गरी नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट संविधानको धारा १५८ बमोजिम बाधा अड्काउ फुकाउन नेपाल राजपत्र खण्ड ६२, अतिरिक्ताङ्क २४, चैत १, २०६९ मा प्रकाशित बाधा अड्काउ फुकाउन जारी भएको आदेशको प्रकरण नं. १० र ११ खारेज गर्ने गरी यो आदेश जारी भएको छ ।”
सम्माननीय राष्ट्रपति डा. रामवरण यादवबाट नेपालको अन्तरिम संविधान, २०६३ को धारा १५८ बमोजिम मन्त्रिपरिषद्को सिफारिसको आधारमा उपर्युक्त आदेश जारी भएकोले यो विज्ञप्ति प्रकाशन गरिएको छ
आज्ञाले,

मितिः १ असोज, २०७०

(त्रैलोक्यराम आचार्य)
सह– प्रवक्ता

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us