उम्मेद्वारी दर्ता गर्न जानेलाई कब्जा गर्छौ: गजुरेल

काठमाण्डु टुडे २०७० असोज १ गते १०:०५ मा प्रकाशित

काठमाण्डु, १ असोज– मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी उपाध्यक्ष सिपी गजुरेलले निर्वाचन आयोगको कार्यतालिका अनुसार संविधानसभा निर्वाचनका लागि उम्मेद्वारी दर्ता गर्न नदिने चेतावनी दिएका छन् ।
cp gajurelरिपोर्टर्स क्लवले राजधानीमा आज गरेको कार्यक्रममा उनले आफूहरुको सहमतिबिना उम्मेद्वारी दर्ता गर्न खोज्नेलाई कब्जामा लिएर मनोनयन नै दर्ता गर्न नदिने बताएका हुन् । उनले मनोनयन दर्ता गर्न आउनेलाई दालभात खुवाएर कोठामा बन्द गरेर राख्ने र दर्ताको समय सकिएपछि फूलमाला लगाएर सम्मानपूर्वक बिदाई गर्ने बताए । उनले संविधान लेख्नका लागि नभई मुलुकलाई सिक्कीमिकरणको प्रक्रियामा लैजान निर्वाचन गर्न लागिएको आरोप लगाए । उनले इतिहासमा कहिल्यै नभएको निर्वाचन बहिस्कार गरेर देखाइदिने चेतावनी दिए । उच्चस्तरीय राजनीतिक समितिले प्रधानन्यायाधीशबाट राजीनामा दिन गरेको आग्रह अस्वीकार गरेर मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले सरकार चार दलीय नियन्त्रणमा नभएको प्रष्ट संकेत दिएको जिकिर गजुरेलको छ ।

अर्को एक फरक प्रसंगमा गजुरेलले सरकारले निर्वाचनमा परिचालन गर्न खोजे सेनाले अस्वीकार गर्ने दाबी गरे । कार्यक्रममा एकीकृत माओवादी नेता हरिबोल गजुरेलले आफूहरुले नै प्रधानन्यायाधीश नेतृत्वमा चुनावी सरकार गठन गरेकाले नैतिक रुपमा पनि अहिले आएर राजीनामा माग्न नमिल्ने बताए । उनले निर्वाचन बहिस्कारवादीलाई जनताले साथ नदिने बताए । उनले मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी निर्वाचनमा आए सहकार्य हुनसक्ने उल्लेख गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us