वैद्य माओवादीसँग सहमतिको सम्भावना समाप्त

काठमाण्डु टुडे २०७० असोज १ गते ५:४४ मा प्रकाशित

काठमाण्डु, १ असोज–उच्चस्तरीय राजनीतिक समितिले वैद्य माओवादी चुनावमा सहभागी नहुने भएकाले मंसिर चार गते नै चुनाव गराउने प्रकृया शुरु गर्न सरकारलाई सुझाव दिएको छ । वैद्य माओवादीलाई नपर्खिएर चुनावमा जाने र चुनावी प्रकृया अघि बढाउनका लागि बाधा अड्काउ फुकाउ प्रकृया शुरु गर्न समितिले सुझाव दिएको हो ।

उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरम नेपाल र अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीसँग भएका सहमति कार्यान्वयन गर्न संविधान संशोधन गर्नुपर्ने भएकाले राष्ट्रपतिसमक्षमा अध्यादेश पठाउन मुख्य दलहरुले सुझाव दिएका हुन् ।

माओवादी नेतृत्वको मोर्चासँग सोमबार बेलुकी भएको वार्तामा सहमति नभएपछि उच्चस्तरीय समितिमा आबद्ध दलका शीर्ष नेताहरु मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीसँग परामर्श गर्न मंगलबार विहान बालुवाटार पुगेका थिए । वैद्य माओवादीले मन्त्रिपरिषद अध्यक्षले प्रधानन्यायाधीश पदबाट राजीनामा दिनुपर्ने अडान राखेको र आफूहरुले त्यसलाई अस्वीकार गरेको नेताहरुले रेग्मीलाई जानकारी गराएका थिए । उनीहरुले सहमतिको प्रयास भने जारी राख्ने बताएका छन् ।

मंसिर ४ गतेको संविधानसभा निर्वाचनमा सहभागी हुन उच्चस्तरीय समितिले गरेको आग्रहलाई वैद्य नेतृत्वको मोर्चाले अस्वीकार गरेकोबारे रेग्मीलाई जानकारी गराएको एमाले नेता अग्नी खरेलले जानकारी दिए ।

बालुवाटारबाट निस्किएपछि शीर्ष नेताहरु निर्वाचन आयोगको कार्यालयमा पुगेका छन् । उनीहरुले प्रमुख आयुक्त नीलकण्ठ उप्रेती लगायतलाई भेटेर मंसिर चार गते नै चुनाव हुनेबारे जानकारी गराउने बताइएको छ ।

मन्त्रिपरिषद अध्यक्ष रेग्मीले प्रधानन्यायाधीश पद त्याग्नु पर्ने माओवादी अडानका कारण सोमबार बेलुकी भएको वार्ता निष्कर्ष विहीन भएको थियो । सोबारे दलहरुले राष्ट्रपति रामवरण यादवलाई सोमबार राती नै जानकारी गराइसकेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us