काठमाण्डु टिम च्याम्पियन

काठमाण्डु टुडे २०७० भदौ ३० गते १४:०९ मा प्रकाशित

काठमाण्डु, ३० भदौ– १२ औं राष्ट्रिय राष्ट्रिय जुडो प्रतियोगिताको टिम इभेन्ट्समा काठमाण्डुले पुरुषतर्फ स्वर्ण जितेको छ ।
नयाँबजारस्थित बहुउद्देश्यीय मार्सल आर्ट केन्द्रमा आइतबार भएको प्रतिस्पर्धामा सरोज महर्जन, रमेश मगर, मोहन सुनार, दिपकृष्ण श्रेष्ठ र सन्जय महर्जन सम्मिलित टिमले काठमाडौलाई प्रतियोगिताको छैटौ स्वर्ण दिलाएका हुन् ।
प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले दोस्रो स्थान हात पार्दा नेपाल आर्मी क्लबले तेस्रो स्थानमा चित्त बुझाउन बाध्य भयो । यता टिम इभेन्ट्सको महिलातर्फ भने नेपाल पुलिस क्लबले स्वर्ण जित्यो । पुलिसको टिममा सीता चौधरी, राधादेवी राई, सुशीला अधिकारी, प्रमिला खड्का र इन्दीरा राईले प्रतिस्पर्धा गरेका थिए । महिला टिम इभेन्ट्समा काठमाडौ जिल्लाले दोस्रो स्थान हात प¥यो भने बाँके तेस्रो भयो ।
प्रतियोगिताको पुरुषतर्फको उत्कृष्ट खेलाडी ७३ केजी मुनिका नेपाल पुलिस क्लबका प्रकाश नेपाली घोषित भए । महिलतर्फ ४८ केजी मुनिकी खेलाडी नेपाली आर्मीकी लीला अधिकारी उत्कृष्ट ठहरिन् । यता ललितपुरका खेलाडी दिवाकर बस्नेत उत्कृष्ट इपोन घोषित भए । महिलामा पुलिस क्लबकी शुसीला अधिकारीले उत्कृष्ट इपोनको ताज हात पार्न सफल भइन् । उत्कृष्ट घोषित भएका चारै खेलाडीले जनहि १–१ हजार नगद पुरस्कार हात पारे ।
तीन दिने प्रतियोगितामा ६ स्वर्ण, ४ रजत र १ कास्य गरि कुल ११ पदक जित्दै काठमाडौंले पहिलो स्थान कब्जा गर्न सफल भयो । दोस्रो स्थान हात पारेको नेपाल पुलिस क्लबले ५ स्वर्ण, २ रजत र २ कास्य गरि ९ पदक जित्यो । नेपाल आर्मीले २ स्वर्ण, ३ रजत र ३ कास्य गरि ८ पदक जित्दै तेस्रो स्थानमा रहन सफल भयो ।  नेपाल जुडो संघद्वारा आयोजित तीनदिने प्रतियोगितामा १७ जिल्ला, तीन विभागीय टोली प्रहरी, एपीएफ र नेपाली सेनाका १ सय ५६ खेलाडी सहभागिता जनाएका थिए । जसमा ९३ पुरुष र ६३ महिला छन् । १४ व्यक्तिगत र २ टिम गरी कूल १६ स्पर्धामा प्रतिस्पर्धा भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us