एक वर्षभित्र सिरियाको रासायनिक हतियार अन्त्य गर्ने सहमति

काठमाण्डु टुडे २०७० भदौ २९ गते १२:३८ मा प्रकाशित

काठमाण्डु, २९ भदौ– रुस र अमेरिकाबीच सिरियाको रासायनिक हतियार सन् २०१४ को मध्यसम्ममा अन्त्य गर्ने सहमति भएको छ ।
siriyaअमेरिकी विदेशमन्त्री जोन केरीले एक हप्ताभित्रमा सिरियामा भएको रासायनिक हतियारको विवरण बुझाउन माग गरेका छन् । केरीले छ बुँदे खाका कोर्दै सिरियाली सरकारलाई हतियार विवरण खुलाउन दबाब दिएका छन् । खाकामा सिरियाले रासायनिक हतियारको संख्या र भण्डारस्थलदेखि लिएर, छानविनका लागि पुग्ने निरीक्षकलाई सहज वातावरण मिलाउनुपर्ने समेत उल्लेख गरिएको छ । सिरियाले रासायनिक हतियारबारे विवरण नखुलाए भने अमेरिकाले संयुक्त राष्ट्रसंघको सहयोगमा सिरियामा सैन्य कारबाही गर्ने चेतावनीसमेत दिएको छ ।
स्वीट्जरल्याण्डको जेनेभामा जारी रुस र अमेरिकाबीचको तेस्रो चरणको छलफलपछि भएको सहमतिमा विदशमन्त्री केरीले राष्ट्रपति बसर अल असद नेतृत्वको सिरियाली सरकारलाई जनताको मागअनुसार चल्न सुझाव दिएका छन् । सिरियाली सरकारले हतियारको विवरण नबुझाए रुस पनि संयुक्त राष्ट्रसंघको सहयोगको सैन्य कारबाहीमा संलग्न हुन सक्ने बताइएको छ ।
फ्रान्सले रुस र अमेरिकाबीच भएको सम्झौताको स्वागत गरेको छ । सिरियामा सैन्य कारवाहीका लागि अमेरिकासंग सहमत हुने फ्रान्स एक मात्र राष्ट्र हो । उता, सिरियाका विद्रोही समूहले भने रुस–अमेरिकी सम्झौताको विरोध गरेका छन् । असद सरकारको विरुद्धमा रहेको विद्रोही समूहले सो सम्झौता रुसले असद सरकारलाई पश्रय दिनका लागि मात्र गरेको आरोप लगाएका छन् भने असद सरकारविरुद्धको आन्दोलन जारी राख्ने घोषणा समेत गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us