
काडमाण्डु, २७ भदौ –काठमाण्डुमा सम्पन्न साफ च्याम्पियनसिप फुटबलको उपाधि अफगानिस्तानले जितेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा भारतलाई २–० ले हराउँदै अफगानिस्तान पहिलो पटक उपाधि उचालेको हो । अफगानिस्तानले उपाधिसँगै ५० हजार अमेरिकी डलर र ट्रफी पाएको छ । भारत २५ हजार डलरमा चित्त बुझाउन बाध्य भयो । प्रतियोगितामा सेमिफाइनलमा पराजित नेपाल र माल्दिभ्सले समान १० हजार अमेरिकी डलर पाएका छन् ।
अफगानिस्तानको जितमा मुस्ताफा अजदेजले नवौं मिनेटमा पहिलो गोल गरे । सम्हालिन नपाउँदै गोल खाएपछि आत्तिएको भारतले पहिलो हाफको अन्त्यतिर अफगानी गोलपोष्टमा आक्रमण तेज बनाएको थियो । तर दोस्रो हाफको ६२ औं मिनेटमा पुन: गोल खाएपछि भारत खेलमा फर्कन सकेन । दोस्रो हाफमा भारतले पहिलो हाफको तुलनामा केही मजबुद खेल प्रस्तुत गरे पनि गोल गर्न सकेन । भारतीय कप्तान सुनील क्षेत्रीलाई सुरुआती टोलीमा मैदान प्रवेश नगराउनु भारतका लागि महंगो सावित भयो । ६० औं मिनेटमा क्षेत्री मैदानमा प्रवेश गरेपछि भने भारतले केही राम्रो प्रदर्शन गरेको थियो । अफगान टिकमा लागि सन्जार अहमदीले ६२ औं मिनेटमा अर्को गोल गरे ।
जितपछि अफगानिस्तानले दुई वर्षअघि फाइनलमा पाएको पराजयको बदला लिएको छ । सन् २०११ मा नयाँ दिल्लीमा भएको फाइनल खेलमा अफगानिस्तानलाई ४–० को फराकिलो अन्तरले हराउँदै भारतले उपाधि जितेको थियो । पराजयपछि भारत भने दोस्रोपटक फाइनल पुगेर उपाधि जित्नबाट बञ्चित भएको छ । नेपाली राष्ट्रिय टिमले फेयर प्ले अवार्ड प्राप्त गरेको छ ।
यस्तै नेपालका रविन श्रेष्ठ मष्ट भ्यालुएबल खेलाडी घोषित भए । उनले
मोटरसाइकल पुरस्कार पाए । प्रतियोगिता भर १० गोल गरेका माल्दिभ्सका कप्तान अली अस्फाकले उच्च गोलकर्ताको अवार्ड हात पारे । प्रतियोगिताको उत्कृष्ट खेलाडीका रुपमा अफगानिस्तानका गोलकिपर मन्सुर फजिरयारले ट्रफी जिते ।