नेपाल र अफगानिस्तान सेमिफाइनलमा भिड्दै

काठमाण्डु टुडे २०७० भदौ २३ गते ४:५४ मा प्रकाशित

Saff-Championship-2013काठमाण्डु, २३ भदौ–काठमाडौंमा जारी आठौं साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनल प्रवेशकालागि आइतबार नेपाल र अफगानिस्तानबीच प्रतिस्पर्धा हुँदै छ । खेल दशरथ रंगशालामा साँझ साढे ६ बजे हुनेछ ।

नेपालले भारतलाई २–१ ले हराउँदै सेमिफाईनलमा स्थान बनाएको हो भने अफगानिस्तानले माल्दिभ्ससँग गोलरहित बराबरी खेलेको थियो । नेपाल र अफगानिस्तानबीच हालसम्म भएका चार खेलमा नेपालले तीनमा जीत र एकमा हार व्यहोरेको छ । अफगानिस्तानले दुईबर्ष अघि नेपाललाई सेमिफाईनलमा पहिलोपटक हराएको थियो । नेपाल सोही बदला लिदै यसपटक फाईनल प्रवेशको तयारीमा छ । पाँच पटकको उपाधि विजेता भारतलाई हराएपछि नेपाली खेलाडिको मनोबल उच्च बनेको छ । नेपाली टिमका कप्तान सागर थापाले ऐतिहासिक अवसरलाई नचुकाउने बताउँदै अफगानिस्तानसँग बदला लिँदै फाईनलमा पुग्ने बताए ।
टिकट किन्न विहानैदेखि भीड
यसैबीच दशरथ रंगशालामा साँझ साढे छ बजे हुने खेलका लागि विहान ८ बजेदेखि नै टिकट विक्री खुल्ला गरिएको छ । तर खेलप्रेमीहरु विहान ५ बजेदेखि नै टिकट किन्न लाम लागेका छन् । थापाथलीस्थित ट्राफिक पोष्ट, त्रिपुरेश्वरको ओल्र्ड ट्रेड सेन्टर नजिकै र नेपाली सेनाको मुख्यालय छिर्ने बागदबार पट्टिको गेट नजिकबाट टिकट विक्री भईरहेको छ ।
अखिल नेपाल फुटबल संघ एन्फाले यसअघिको टिकटको मूल्य बढाएर साधारणतर्फ पाँच सय र भिआईपी तर्फ एक हजार रुपैयाँ पुर्याएको छ । यसअघि टिकट ब्ल्याकमा बेचिएकोले त्यसलाई रोक्न यसपाली होलोग्राम स्टीकर अंकित टिकटको व्यवस्था गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us