
वीरगन्ज, २१ भदौ – एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनाव विथाल्ने धम्की दिने वैद्य माओवादीको भनाईमा कुनै दम नभएको टिप्पणी गरेका छन् । पर्साको वीरगन्जमा शुक्रबार पत्रकारसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले वैद्य माओवादीमा चुनाव विथाल्ने क्षमता नभएको जिकीर गरे ।
माओवादी नेता नेत्रविक्रम चन्दले आफूहरुसँग थुप्रै हतियार भएको र आवश्यक परे उठान सक्ने भनी दिएको अभिव्यक्तीबारे सन्चारकर्मीको जिज्ञासामा प्रचण्डले भने, ‘यदी उहाँहरुले साँच्चै त्यस्तो भनेको भए माखो पनि मार्नसक्नु हुन्न, उहाँहरुमा चुनाव विथोल्ने क्षमता छैन ।’
अध्यक्ष प्रचण्डले नेकपा–माओवादी पनि चुनावमा आउनुको विकल्प नभएको बताए । संघीय समाजवादी पार्टी निर्वाचनमा सहभागी हुन तयार भएकोले माओवादी पनि निर्वाचनमा सहभागी हुने सम्भावना बढेर गएको उनले दावी गरे ।
‘वैद्य र हामीसँगै मिलेर संघीय लोकतान्त्रिक गणतन्त्र ल्याऔं, अब त्यसलाई संस्थागत गर्ने बेला आएको छ,’ अध्यक्ष प्रचण्डले भने, ‘हामी सबै मिलेर संविधानसभा निर्वाचन सफल बनाऔं । मलाई विश्वास छ, वैद्य जीहरु पनि चुनावमा आउनु हुन्छ ।’
एक फरक प्रसंगमा अध्यक्ष प्रचण्डले आफूले सर्बोच्च अदालतको अपमान नगरेको स्पष्ट पारेका छन् । अदालतले तीन दिनभित्र स्पष्टिकरण दिन आदेश दिएकोबारे सन्चारकर्मीको जिज्ञासामा उनले भने, ‘मैले अदालतको मानहानी गरेको छैन, अदालतले सोधेको जवाफ त्यसैगरी दिन्छु ।’