
काठमाण्डु, २१ भदौ– नोभाक जोकोभिच युएस ओपन टेनिसको सेमिफाइनल प्रवेश गरेका छन् । शुक्रबार विहान भएको पुरुष एकलतर्फको क्वाटरफाइनलमा शिर्ष वरियताका सर्वियन जोकोभिकले रुसी मिखाइल योज्नीलाई ६–३, ६–२, ३–६ र ६–० ले पराजित गरेका हुन् ।
जोकोभिक सन् २०११ को विजेता हुन् । उनले अन्तिम चारमा ९ औं वरियताका स्वीस स्टानिस्लास वावारिन्कासँग खेल्नेछन् ।
यसअघि शुक्रबार विहान भएको अर्को खेलमा वावारिन्काले डिफेण्डिङ च्याम्पियन ब्रीटिश एण्डी मर्रेलाई पराजित गरे । तेस्रो वरियताका मर्रे वावारिन्कासँग ६–४, ६–३ र ६–२ को सेटमा पराजित भएका हुन् ।
स्टेपानेक र लिएन्डरको जोडी फाइलमा
यसैबीच चेक गणराज्यका राडेक स्टेपानेक र भारतका लिएन्डरको जोडी यूएस ओपन टेनिसको पुरुष डबल्सको स्पर्धामा फाइनलमा प्रवेश गरेको छ ।
सेमी फाइनलमा उनीहरुको जोडीले अमरीकाका माइक ब्रायन र बब ब्रायनको शीर्ष वरीयता प्राप्त जोडीलाई पराजित गरेको हो ।
आर्थर ऐश स्टेडियममा भएको खेलमा चौथो वरीयता प्राप्त स्टेपानेक र लियन्डरको जोडीले अमरीकी जोडीलाई ३–६, ६–३ र ६–४ को सेटमा पराजित गर्न सफल भयो ।
महिला डबल्स तर्फको सेमीफाइनल खेलमा अष्ट्रेलियाको ऐशले बार्टी र केजी डेलाक्वाको जोडी फाइनलमा पुगेको छ । यो जोडीले भारतीय सानिया मिर्जा र चीनकी जी जेन्दको जोडीलाई सीधा सेटमा ६–२ र ६–२ ले पराजित गर्दै उपाधी नजिक पुगेको हो ।