चुनावको मुखमा दुई माओवादी नजिकिँदै

काठमाण्डु टुडे २०७० भदौ २० गते ०:२९ मा प्रकाशित

काठमाण्डु, २० भदौ–संविधानसभा चुनाव मिति नजिकिँदै गर्दा १३ महिना अघि फुटेका एकीकृत नेकपा माओवादी र नेकपा–माओवादी फेरि नजिक हुन थालेका छन् । चुनाव बहिस्कार गर्ने निर्णयका कारण माओवादी अप्ठेरोमा परेको र एमाओवादीलाई पनि चुनाव जित्न सहयोग चाहिएकाले दुवै पक्षबीच एकता हुने सम्भावना बढेको हो ।

prachanda-baidhyaएमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार ललितपुरको खन्ना गार्मेन्टमा कार्यकर्तालाई प्रशिक्षण दिँदै नेकपा–माओवादीका सबै नेताकार्यकर्ताहरुलाई फर्काउने प्रयास भैरहेको र फर्कने सम्भावना पनि रहेको बताएका थिए ।

पार्टी फुटेको मौका पारी शान्ति सम्झौताअघिका घटना उछालेर दुवै पक्षका नेतालाई फसाउने षड्यन्त्र भैरहेको महसुस माओवादी नेतृत्वले गर्न थालेको छ । बुधबार धरान पुगेका माओवादी सचिव नेत्रविक्रम चन्दले भने, ‘माओवादी फुटेको मौका पारी एमाले–काँग्रेसले शान्तिसम्झौता अघिका घटना उठाएर दुःख दिने कोसिस गरिरहेका छन् । हामी फुट्यौं भनेर खुसी नहोऊ तिमीहरुको टाउकोमा चिसो पानी खन्याउन आउँछौं । हाम्रो नेतृत्वमा सबै कम्युनिष्टहरु एकढिक्का हुन सक्छौं ।’

माओवादीभित्र हार्ड लाईनर भनेर चिनिने चन्दले कि फेरि सशस्त्र संघर्षमा फर्किनु पर्ने, त्यो आँट गर्न नसक्ने हो भने एमाओवादीसँग एकता गरेर चुनावै जानुपर्ने मत राख्दै आएका छन् ।

चन्दले केही दिनअघि आकस्मिक चीन भ्रमण गरेका थिए । पार्टी फुटेपछि दुवै माओवादीलाई मान्यता दिएको चीनले पार्टी एकीकरण गरेर जान सुझाव दिँदै आएको दुवै पक्षका नेताले अनौपचारिक रुपमा बताउँदै आएका छन् ।

मधेसी जनअधिकार फोरम र संघीय समाजवादी पार्टी पनि चुनावमा भाग लिने निष्कर्षमा पुगेपछि नेकपा–माओवादीमाथि राष्ट्रिय अन्तराष्ट्रिय दवाव बढेको हो ।  – अन्नपूर्ण पोष्ट दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us