सरकारी खाना अधिकारी दम्पतीबाट अस्वीकार

काठमाण्डु टुडे २०७० भदौ १९ गते ६:५९ मा प्रकाशित

Adhikari-Coupleकाठमाण्डु, १९ भदौ – छोरा कृष्णप्रसादको हत्यामा संलग्नलाई कारबाही माग गर्दै ४५ दिनदेखि भोक हड्ताल जारी राखेका गोरखा फुजेल गाविस ७ का अधिकारी दम्पत्तिले खाना खान अस्वीकार गरेका छन् । सर्बोच्चको आदेशअनुसार अधिकारी दम्पत्तिलाई खाना खुवाएर अनशन तोडाउने सरकारी प्रयास असफल भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव कृष्णहरि बास्कोटासहितको टोली बीर अस्पतालमा अनशन बस्दै आएका नन्दप्रसाद अधिकारी र गंगामाया अधिकारीलाई खाना खुवाउन बुधबार बीर अस्पताल पुगेको थियो । तर, आफ्ना छोरा कृष्णप्रसाद अधिकारीका हत्यारालाई कारबाही नगरेसम्म खाना नखाने उडान उनीहरुले छाडेनन् । ‘उहाँहरुले खाना खान मान्नु भएन,’ सचिव बास्कोटाले भने, ‘अधिकारी परिवारलाई न्याय दिलाउन र जीवन रक्षा गर्न सरकारको पहल जारी रहन्छ ।’

मंगलबार सर्बोच्च अदालतले अधिकारी दम्पत्तिलाई सम्झाई बुझाई खाना खुवाउन र नमाने जबरस्ती भए पनि खाना खुवाउन सरकारको नाममा आदेश दिएको थियो ।

अस्पतालका चिकित्सक डा. बुलन्द थापाले बाहिर चर्चामा आएजस्तो अधिकारी दम्पतीको स्वास्थ्यस्थिति गम्भीर नभएको पत्रकारलाई जानकारी दिए । अस्पताल परिसरमा मानवअधिकारवादी र द्वन्द्वपीडितले अधिकारी दम्पतीलाई न्याय दिलाउन माग गर्दै धर्ना जारी राखेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us