
काठमाण्डु १९ भदौ–एकीकृत माओवादीको सहयोगी संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल)ले जम्बो केन्द्रीय समिति बनाउन लागेको छ । गणेशमान पुनलाई अध्यक्ष निर्वाचित गर्दै सकिएको एकताको प्रथम अधिवेशनले तीन सय ८९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गराउन लागेको छ ।
अध्यक्ष बाहेक अन्य पदाधिकारी बुधवारको केन्द्रीय समितिबाट टुंगो लगाइने समझदारी भएको वाईसीएलका नेता रामप्रसाद सापकोटाले जानकारी दिए । उनका अनुसार एकीकृत माओवादीको केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा मध्यान्ह बस्ने पहिलो केन्द्रीय समिति बैठकबाट पदाधिकारी चयन गर्नेछ । बैठकमा १३ जना उपाध्यक्ष,एक महासचिव,१४ जना सचिव र एक कोषाध्यक्षको प्रस्ताव हुँदैछ । प्रज्ञा भवन कमलादीमा मंगलवार सकिएको महाधिवेशनले पार्टीले हेटौडा महाधिवेशनबाट ल्याएको युवाहरुलाई उत्पादनमूलक क्षेत्रमा लगाउने कार्यदिशालाई सघाउने गरी कार्यनीति तय गरेको वाईसीएलले जनाएको छ । निर्बाचनमा वाईसीएलको भुमिकालाई प्रभावकारी बनाउने विषयमा पनि रणनीति तय गरिएको नेता सापकोटाले बताए ।