संघीय समाजवादीले पनि चुनावमा भाग लिने

काठमाण्डु टुडे २०७० भदौ १९ गते ६:३७ मा प्रकाशित

Federal-socialist-party-sanghiyaकाठमाण्डु, १९ भदौ–चुनावी प्रकृयाप्रति असन्तुष्टि जनाउँदै आएको संघीय समाजवादी पार्टी पनि चुनावमा सहभागी हुने भएको छ । संविधानसभा सदस्य संख्या ६ सय १ पुर्याउन प्रमुख दल सैद्धान्तिकरुपमा सहमति भएपछि अशोक राई नेतृत्वको पार्टी चुनावमा सहभागी हुने भएको हो ।

‘आफूले राखेका बिभिन्न मागमध्ये एउटा महत्वपूर्ण माग पूरा भएको छ,’ संघीय समाजवादी पार्टीका महासचिव राजेन्द्र श्रेष्ठले भने, ‘निर्वाचनमा सहभागि हुने वातावरण बनेको छ ।’ समाजवादी पार्टीसँग बुधबार साँझ ५ बजे बस्ने उच्चस्तरीय समितिको बैठकमा समाजवादी पार्टीका शीर्ष नेताहरुसँग अन्तिम समझदारी हुने काँग्रेस नेता अर्जुन नरसिंह केसीले जानकारी दिए ।

सो पार्टीले उच्चस्तरीय समिति खारेज, सर्वदलीय राजनीतिक सम्मेलन, २५ बुँदे बाधा अड्काउ फुकाउ आदेश खारेज हुनपर्नेलगायत माग राख्दै आएको छ ।

यसअघि उपेन्द्र यादव नेतृत्वको संघीय लोकतान्त्रिक मोर्चा चुनावमा सहभागी हुन सहमत भैसकेको छ । अब नेकपा–माओवादी नेतृत्वको मोर्चा मात्र सहमतिमा आउन बाँकी छ । उसलाई पनि चुनावमा सहभागी गराउन अन्तिमपटक पहल गर्ने उच्चस्तरीय राजनीतिक समितिले निर्णय गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us