
काठमाण्डु, १८ भदौ । युवा नेता गगन थापाको नाम आसन्न संविधानसभा निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर–४ बाट प्रत्यक्षतर्फ १ नम्बरमा सिफारिस भएकामा काँग्रेसमा विवाद भएको छ ।
क्षेत्रीय समितिको बैठकबिनै सभापति न्हुच्छेमान डंगोलले आफूखुसी गगनको नाम १ नम्बरमा राखेर पठाएको भन्दै त्यस क्षेत्रका काँग्रेस नेता कार्यकर्ता असन्तुष्ट बनेका हुन् । गगनको नाम सिफारिस भएकामा असन्तुष्ट हुनेमा सुप्रभा घिमिरे, श्रीराम लामिछाने, जानु घिमिरे, साधुराम खड्का र प्रतिमा गौतमलगायत छन् । असन्तुष्टले मंगलबार क्षेत्रीय स्तरको कार्यकर्ता भेला गरी त्यससम्बन्धी निर्णय सच्याउन पार्टी सभापति सुशील कोइरालाको ध्यानकर्षण गराउने निर्णय गरेका छन् ।
काँग्रेस क्षेत्र नम्बर ४ की नेतृ प्रतिमा गौतमले संस्थागत निर्णयबिना अलोकतान्त्रिक तवरले भएको निर्णय सच्याउन बुधबार सभापति कोइरालाको ध्यानाकर्षण गराइने बताइन् । असन्तुष्टमध्ये सुप्रभा घिमिरेले गत संविधानसभा निर्वाचनमा सोही क्षेत्रबाट प्रत्यक्षमा जितेकी थिइन् । निर्णय नसच्याइए निर्वाचनमा थापा हराउ अभियान चलाउने चेतावनी असन्तुष्टले दिएका छन् ।