चुनावमा १ सय ८० सिट जितिन्छ : प्रचण्ड

काठमाण्डु टुडे २०७० भदौ १८ गते १०:३७ मा प्रकाशित

Prachandaकाठमाण्डु, १८ भदौ – एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी संविधानसभा चुनावमा १ सय ८० सिट जित्ने दावी गरेका छन् । ललितपुरको खन्ना गार्मेन्टमा मंगलबार जनवर्गीय संगठनका कार्यकर्ताहरुलाई प्रशिक्षण दिँदै अध्यक्ष प्रचण्डले २ सय ४० निर्बाचन क्षेत्रमध्ये १ सय ८० सिट जित्ने दावी गरेका हुन् ।

‘पार्टी केन्द्रीय समिति बैठकले आगामी मंसीर ४ गते हुने दोस्रो संबिधानसभा चुनावमा १८० सिट जित्ने निश्कर्ष निकालेको छ,’ प्रचण्डले भने, ‘हाम्रो एजेण्डा राम्रो छ, जनताको विश्वास पनि छ । त्यसैले हामी जित्छौं ।’ उनले जनतामा नजाने तर नेतृत्वमा वार्गेनिङ गर्ने नेतालाई अबको चुनावमा टिकट नदिने स्पष्ट पारे ।

वैद्य नेतृत्वको नेकपा–माओवादीका धेरै नेता कार्यकर्ता एकीकृत नेकपा माओवादीमा फर्किन खोजेको उनले जानकारी गराए । ‘त्यसरी फुटेर फर्किनुभन्दा सिंगै पार्टी नै फर्काउने कोशिस भैरहेको छ,’ अध्यक्ष प्रचण्डले भने, ‘चुनाव अघि नै पार्टी एकता हुनेमा हाम्रो विश्वास छ ।’

द्वन्द्वकालका घटना उठाउने भए आफूहरु पनि नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरु विरुद्ध किटानी जाहेरी दिन पछि नपर्ने उनले चेतावनी दिए । अध्यक्ष प्रचण्डले गोरखाको फुजेल घटनाविरुद्ध आफ्ना कुनै कार्यकर्ता पक्राउ गरे त्यो सैह्य नहुने भन्दै बरु आफूहरुलाई पक्रन मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीलाई आग्रह गरेको जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us