
काठमाण्डु, १८ भदौ – नेकपा मालेलगायत १० साना दलले तत्काल गोलमेच सम्मेलन आयोजनाको पहलकदमी लिन राष्ट्रपतिलाई आग्रह गरेका छन् । माले केन्द्रीय कार्यालयमा मंगलबार बसेको बैठकले संविधानसभामा पुगेका दल र वर्तमान आन्दोलनमा रहेका दलबीच गोलमेच सम्मेलन गर्न पहल गर्न आग्रह गरेको हो ।
१० दलका नेताहरुले निकालेको संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘संविधानसभा निर्वाचनलाई शान्तिपूर्ण र धाँधलीरहित ढङ्गले सम्पन्न गर्न देशका सबै दलले गोलमेच सम्मेलनमा सहभागी हुने मेलमिलापयुक्त वातावरण सृजना गर्नुपर्छ ।’
छबुँदे विज्ञप्तिमा हस्ताक्षर गर्नेमा नेकपा (माले)का महासचिव सिपी मैनाली, नेकपा (मसाल)का महामन्त्री मोहनविक्रम सिंह, जनमोर्चा नेपालका महासचिव साध्यबहादुर भण्डारी, नेकपा (माक्र्सवादी)का पोलिटब्युरो सदस्य अच्युतराज ज्ञवाली, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य रामप्रकाश पुरी रहेका छन् । यसैगरी समाजवादी जनता पार्टीका अध्यक्ष हिक्मतबहादुर देउवा, चुरेभावर राष्ट्रिय पार्टी केन्द्रीय सदस्य मणि आचार्य, जनता दल नेपालका अध्यक्ष रामकुमार ओझा, नेकपा (संयुक्त)का पोलिटब्युरो सदस्य मोहमद अब्बास तथा नेकपा (एकता क्रान्तिकारी)का प्रवक्ता हिमलाल पुरीले पनि विज्ञप्तिमा हस्ताक्षर गरेका छन् ।