
काठमाण्डु, १८ भदौ – राप्रपा नेपालले निर्वाचन आयोग विरुद्ध सर्वोच्च अदालतमा मंगलबार रिट दायर गरेको छ । मतपत्रको सूचीमा आफ्नो पार्टीको चुनाव चिन्ह तेस्रो नम्बरमा हुनुपर्नेमा नवौं नम्बरमा राखिएको विरोधमा राप्रपा नेपालले निर्वाचन अयोगविरुद्ध रिट हालेको हो ।
निर्वाचन आयोगले निकालेको नमूना मतपत्रमा पहिलो नम्बरमा नेकपा एमाले, दोस्रो नम्बरमा नेपाली काँग्रेस, तेस्रो नम्बरमा राष्ट्रिय प्रजातन्त्र पार्टी, चौथो नम्बरमा एनेकपा माओवादी र पाचौं नम्बरमा नेपाल मजदुर किसान पार्टीको चुनाव चिन्ह छ ।
‘दल दर्ता गर्नेबेला हामीले तेस्रो नम्बरमा दर्ता गरेका थियौं तर अहिले नमूना मतपत्रमा नवौं स्थानमा चुनाव चिन्ह राखिएको रहेछ, त्यसैले हाम्रो स्थान तेस्रो नम्बरमै हुनुपर्छ भनेर रिट दायर गरेका हौं,’ राप्रपा नेपालका नेता राजाराम श्रेष्ठले भने ।
जस्ले पहिले दल दर्ता गर्यो मतपत्रमा उसैको चुनाव चिन्ह माथि हुने भएकाले सबैभन्दा पहिले दल दर्ता गर्न राजनीतिक दलहरुबीच हानथाप हुन्छ । यसअघि निर्वाचन आयोगमा कस्ले पहिले दल दर्ता गरेको भन्नेमा एनेकपा माओवादी र एमालेबीच विवाद भएको थियो । विवाद बढेपछि आयोगले अहिलेको दर्ता नम्बर आधिकारीक नभएको र पछि अर्को दर्ता नम्बर उपलब्ध गराउने जवाफ दिएपछि विवाद साम्य भएको थियो ।