बाढीले बगाएर एकजनाको मृत्यु, ५ घर पुरिए

काठमाण्डु टुडे २०७० भदौ १८ गते ८:२२ मा प्रकाशित

काठमाण्डु, १८ भदौ । सिराहाको लहान नगरपालिकामा पर्ने बलान खोलाले बगाउँदा एक रिक्सा मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा लहान नगरपालिका–५ का ४५ वर्षीय रामखेलावन सदाय रहेको वडा प्रहरी कार्यालय लहानले जनाएको छ ।

सोमबार साँझ खोलामा बगेका सदायको मंगलबार बिहान सप्तरीको टिकुलिया–५ मा फेला परेको हो ।

बागलुङमा ५ घर पुरिए

यसैबीच अविरल वर्षाका कारण खसेको पहिरोले बागलुङमा ५ घर बगेका छन् । वर्षासँगै आएको पहिरोले बोवाङ र तमान गाविसमा गरी पाँच घर पुरिएका छन् ।

सोमबार राति बोवाङ गाविस–३ का ज्ञामलाल भण्डारी, तीर्थे भण्डारी, वडा नम्बर ४ का रणबहादुर विक, रुपलाल विक, वडा नम्बर ५ का आइते विकको घर पहिरोले पुरेको स्थानीयले बताएका छन् ।

पहिरोले पुर्याएको क्षतिबारे एकिन विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रकाश सापकोटाले जानकारी दिए । रातभर पानी पर्ने र पहिरो जान थालेपछि तमान गाविस र छिमेकी गाविसका बासिन्दा नजिकको विद्यालयमा आश्रय लिएर बसेका छन् ।

यसैबीच बोंगादोभान गाविस–५ मा रहेका सेन्नामा, गोर्काधारा, रानीवेसालगायतका गाउँमा गएको पहिरोले खेतबारी, अन्नपात नष्ट गरेको स्थानीयले बताएका छन् । तमान गाविसमै आएको पहिरोमा पुरिएर पाँच वटा पशुचौपाया पनि मरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us