दार्चुलामा सरकारी राहत:‘हात्तीको मुखमा जिरा’

काठमाण्डु टुडे २०७० भदौ १८ गते ६:०४ मा प्रकाशित

दार्चुला, १८ भदौ – दार्चुलाका बाढीपीडितलाई सरकारले हालसम्म ४ सय १० क्विन्टल चामल मात्र पठाएको छ । गत असार पहिलो साताको बाढीपहिरोले तहसनहस भएको दार्चुलामा सरकारले पठाएको खाद्यान्न अपुग भएको सरोकारवालाको भनाई छ ।

बाढीपीडितका लागि सरकारले नेपाली सेनाको हेलिकोप्टरमार्फत पठाएको राहत सामग्री अपुग भएको नेपाल खाद्य संस्थान धनगढीका प्रमुख सुरेन्द्रराज विष्टले बताए । ‘हालसम्म चार सय १० क्विन्टल चामल, पाँच क्विन्टल दाल र एक हजार लिटर तोरीको तेल आएको छ,’ विष्टले भने ‘यो त हात्तीको मुखमा जिरा जस्तै हो ।’

सरकारले बेवास्ता गरेकोले दार्चुलामा खाद्यान्न संकटको अवस्था झेल्नुपरेको उद्योग वाणिज्य संघ दार्चुलाका अध्यक्ष मंगलसिंह ठगुन्नाले बताए ।

यातायात खुल्न नसकेपछि ढुवानी हुन नसकेको तथा दैनिकजसो बजारमा खाद्यान्न सामग्री सकिएकाले भारतबाट नुन र चामल ल्याई खान स्थानीय बाध्य छन् । गत असार पहिलो साता आएको बाढीले जिल्ला तहसनहस हुन पुगेको थियो । दार्चुलाको स्थलगत अवलोकन पछि मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले जिल्लालाई संकट क्षेत्र घोषणा गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us