प्रचण्ड–बाबुरामले रेग्मीलाई भने: ‘सक्छौ भने हामीलाई जेल हाल’

काठमाण्डु टुडे २०७० भदौ १८ गते ८:२४ मा प्रकाशित

काठमाण्डु, १८ भदौ– एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड र नेता बाबुराम भट्टराईले द्वन्द्वकालीन घटना आफूहरुको निर्देशनमा भएकाले जेल हालेर देखाउन चुनौती दिएका छन् ।
prachanda-regmi-bhattaraiमन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीलाई मंगलबार बालुवाटारस्थित सरकारी निवासमा भेटेर उनीहरूले यस्तो चुनौती दिएका हुन् । ‘२०५२ साल फागुन १ देखि २०६३ मंसिर ४ सम्म भएका सबै घटना हाम्रो निर्देशन र योजनामा भएका हुन्’, प्रचण्डको भनाइ उद्धृत गर्दै बालुवाटार स्रोतले भन्यो, ‘त्यसको नैतिक जिम्मेवारी हामी लिन्छौं, मुद्धा आदेश पालना गर्नेलाई होइन । आदेश दिनेलाई लगाउनुस् । हामी जेल जान तयार छौं ।’
भेटमा प्रचण्ड–बाबुरामले शान्तिप्रक्रिया र अन्तरिम संविधान–२०६३ को मर्म र भावनाविपरीत देशभर आफ्ना कार्यकतालाई द्वन्द्वकालीन घटनामा मुछेर मुद्धा लगाउने तयारी भइरहेकामा आपत्ति जनाएका थिए । शान्ति सम्झौताविपरीत आफ्ना नेता कार्यकर्ताविरुद्ध मुद्धा लगाउने क्रम जारी रहे शान्ति सम्झौता भंग हुनसक्ने चेतावनीसमेत माओवदीले नेताहरुले दिएको बुझिएको छ । ‘चुनावको मुखमा आएर हाम्रो पार्टीको बदनाम र नेता कार्यकर्ताको तेजोबध गर्ने उद्देश्यले धमाधम द्वन्द्वकालीन मुद्धा ब्युँताउने कोसिस भइरहेको छ । यो शान्तिप्रक्रिया र संविधानसभा निर्वाचन भाँड्ने गुरुयोजनाअन्तर्गत भइरहेको षड्यन्त्र हो’ प्रचण्डले रेग्मीलाई भनेका छन् ।
माओवादीले द्वन्द्वकालीन घटनाको टुंगो सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत लगाउन पनि अध्यक्ष रेग्मीको ध्यानाकर्षण गराएका छन् । आफ्ना छोराको हत्यामा संलग्न माओवादी कार्यकर्ताविरुद्ध कारबाहीको माग गर्दै गोरखा फुजेलका नन्दलाल अधिकारी दम्पत्ति अनसनमा बसेका छन् । हिजो बसेको माओवादी केन्द्रीय समिति बैठकले देशी विदेशी प्रतिक्रियावादी शक्तिको इशारामा अधिकारी दम्पत्ति अनशनमा बसेको निष्कर्ष निकालेको थियो ।
स्रोतका अनुसार जवाफमा अध्यक्ष रेग्मीले द्वन्द्वकालीन घटनामा मुद्धा लगाउन सरकारले मातहतका निकायलाई निर्देशन नदिएको बताएका थिए । उनले गोरखा फुजेल प्रकरणमा भने सरकारमाथि मुद्धा चलाउन दबाब आएको बताए ।
भेटमा एकीकृत माओवादीबाट नेता नारायणकाजी श्रेष्ठ भने थिए । यस्तै भेटमा सरकारका तर्फबाट अध्यक्ष रेग्मीसहित गृहमन्त्री माधव घिमिरे, सूचना तथा सञ्चारमन्त्री माधव पौडेल र स्थानीय विकासमन्त्री विद्याधर मल्लिक थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us