अस्थायी शिक्षकले सिंहदरबार घेर्ने

काठमाण्डु टुडे २०७० भदौ १७ गते ११:२४ मा प्रकाशित

काठमाण्डु, १७ भदौ–अस्थायी शिक्षकहरुले आन्दोलनको नयाँ कार्यक्रम घोषणा गरेका छन् । सोमबार काठमाण्डुको शिक्षा पत्रकार समूहमा पत्रकार सम्मेलन गरी अस्थायी शिक्षक संघर्ष समितिले आन्दोलन घोषणा गरेको हो ।

आन्दोलनका कार्यक्रमअनुसार यही भदौ १९ गतेदेखि २१ गतेसम्म बिहान साढे ९ बजे काठमाण्डुको शान्तिवाटिकामा भेला भई नारा जुलुससहित सिंहदरबारमा धर्ना दिने संघर्ष समितिले जनाएको छ । यस आन्दोलनबाट पनि माग पूरा नभए थप आन्दोलन गर्ने उसले चेतावनी दिएको छ ।

पत्रकार सम्मेलनमा संघर्ष समितिका अध्यक्ष रामचन्द्र अधिकारीले शिक्षक सेवा आयोगले गत पुस २० मा विज्ञापन गर्दा २०६३ वैशाख १० सम्मका  दरवन्दीहरु यथावत् राखी सो पछिका दरवन्दीहरुमा मात्र खुल्ला विज्ञापन गरेको कारणबाट अस्थायी शिक्षक पुनः आन्दोलित भएको बताए ।

अस्थायी शिक्षकहरुले प्रकृया पुर्याइ स्थायी गर्नुपर्ने, संवैधानिक शिक्षक सेवा आयोग गठन गर्नुपर्ने लगायत ६ बुँदे माग राखेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us