काठमाण्डु ४ मा काँग्रेसका गगन र माओवादीका पासाङ भिड्ने

काठमाण्डु टुडे २०७० भदौ १७ गते ११:१२ मा प्रकाशित

Pasang-Gagn-Finalकाठमाण्डु, १७ भदौ– आसन्न संविधानसभा निर्वाचनमा काठमाण्डु क्षेत्र नम्बर ४ मा एकीकृत माओवादीका पूर्वलडाकु प्रमुख नन्दकिशोर पुन र काँग्रेसका गगन थापाबीच प्रतिस्पर्धा हुने भएको छ ।

काँग्रेस क्षेत्रीय समितिले थापाको नाम प्रत्यक्षमा सर्वसम्मत सिफारिस गरिसकेको छ । एकीकृत माओवादीले पुनलाई केही दिनभित्रै उम्मेद्वार सिफारिस गर्ने तयारी गरेको छ । थापा र पुन दुवै नेपाली राजनीतिका चर्चित पात्र हुन् । पुन राजनीतिमा लाग्नुअघि खेलाडी र शिक्षक थिए । थापा भने नेविसंघको राजनीतिबाट पार्टी राजनीतिमा आएका हुन् । प्रष्ट र तर्कशील वक्ताको छवि बनाएका थापा खास गरी युवा पुस्तामाझ चर्चित र लोकप्रिय पनि छन् । उनले मुलुकको विकास र समृद्धिका लागि राजनीतिको लगाम युवाहरुको हातमा जानुपर्ने बहस चलाउँदै आएका छन् । २०६२÷०६३ को जनआन्दोलनपछि एकाएक चर्चामा आएका थापाको क्रेज पार्टीको १२ औँ महाधिवेशनबाट केन्द्रीय सदस्य चुनिएपछि बूढा नेताहरुकै वरिपरि घुमेकाले केही खस्किएको ठान्नेहरु पनि छन् ।

रोल्पा स्थायी घर भएका पुन सशस्त्र जनयुद्धको १० वर्षभरि नै चर्चामा रहे । एकीकृत माओवादी अध्यक्ष प्रचण्डका प्रिय पात्र उनी जनमिलिसियादेखि लडाकु प्रमुखसम्म भए । शान्ति प्रक्रियामा आएयता उनी काठमाडौँको कपनमा परिवारका साथ डेरामा बस्दै आएका छन् । पछिल्लो समय दुवै मृगौलामा गम्भीर समस्या भए पनि उपचारका लागि विदेश नजाने अडान लिएका कारण उनी चर्चामा छन् ।

पार्टी अध्यक्ष प्रचण्डका साथै परिवारका सदस्यले उपचारका लागि विदेश जान दिएको दबाब अस्वीकार गरे । उनको स्वास्थ्य अहिले सामान्य छ । सामान्य टाउको दुख्दासमेत राज्य कोषको लाखौं रकम खर्चेर विदेशका महंगा अस्पतालमा उपचार जाने नेपाली नेताहरुको प्रवृत्तिलाई चुनौती दिएका कारण उनलाई पछिल्लो समय नेपाली सञ्चारमाध्यमले पछ्याउने गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us