तेस्रो लिङ्गी पन्त एमाले प्रवेश

काठमाण्डु टुडे २०७० भदौ १७ गते ११:११ मा प्रकाशित

Sunil-Babu-Pantकाठमाण्डु, १७ भदौ–पूर्व सभासद् तथा नील हिरा समाजका संस्थापक अध्यक्ष सुनिलबाबु पन्त विधिवद् रुपमा एमालेमा प्रवेश गरेका छन् । पार्टी मुख्यालय बल्खुमा साेमबार भएको कार्यक्रममा पन्तसहित चारभन्दा धेरै तेस्रो लिङ्गी एमालेमा प्रवेश गरेका हुन् । पार्टी अध्यक्ष झलनाथ खनालले रातो टिका लगाएर पन्तसहित प्रवेश गरेका सवैलाई स्वागत गरेका थिए ।

पन्त यसअघि नेकपा एकीकृतबाट समानुपातिकतर्फको सभासद थिए । कार्यक्रममा एक सय पचासभन्दा धेरै तेस्रो लिङ्गी सहभागि थिए । पन्तसहित तेस्रो लिङ्गीको प्रवेशले पार्टी परित्याग गरि गएका अशोक राईको क्षतिपूर्ति गर्ने एमालेको बिश्लेषण छ । बल्खु स्रोतले भन्यो, ‘अशोक राईको नतृत्वमा गएका नेताबाट एकदेखि डेढलाख मत प्रभावित पारेको थियो । त्यो भोट अब तेस्रो लिङ्गीको प्रवेशले पूर्तीले भएको छ ।’
पार्टीमा कार्यरत तेस्रो लिङ्गी असन्तुष्ट
पार्टी संगठनमा लामो समदेखि काम गरेका अन्य तेस्रो लिङ्गी भने पार्टीमा पन्तको प्रवेश प्रति रुष्ट भएका छन् । पार्टी भित्रै लामो समयदेखि काम गर्ने तेस्रो लिङ्गीलाई वेवास्ता गरि योगदानविहीनहरुलाई टपक्क टिपेर ल्याएको भन्दै उनीहरुले विरोध गरेका छन् । म्याग्दी काठमाडौ सम्पर्क मञ्चका सह–सचिव बद्री पुन (तेस्रो लिङ्गी)ले भ्रष्टाचारमा डुबेका पन्तलाई पार्टी प्रवेश गराएर गल्ति गरेको बताए । उनले भने, ‘हामीले पार्टीमा योगदान गरेको २५ वर्ष पुगिसक्यो । हामीलाई कुनै स्थान छैन । तर  जो भ्रष्टाचारका कारण  बदनाम छ उसैलाई हैसियत दिएर पार्टी प्रवेश गराइएको छ । यसले हामी जस्ता इमान्दार कार्यकर्तालाई निरास बनाएको छ ।’
एमाले विरोधी पन्त
निल हिरा समाजमा अध्यक्ष छँदा कम्यूनिष्टहरुले मुलुक विगारेको भन्दै एमाले निकट कर्मचारीलाई पन्तले छानिछानि निकालेका थिए । त्यति मात्र नभइ उनीहरुलाई समर्थन गर्ने अन्य पार्टीसँग आस्थावान कर्मचारी पनि पन्तको शिकार भएका थिए । उनले समाजको बोर्ड सदस्यका रुपमा कार्यरत वद्री पुनलाई समाजबाट निकाली एमाले विरोधी कामको सुरुवात गरेका थिए । त्यसलगतै समाजमा कार्यरत तेजू अधिकारी, मनिस थापा, अस्तुप पुन, प्रकाश चौधरी, विनोद लामा लगायतलाई निकालेका थिए । समाजबाट निष्कासनमा परेका पुनले भने, ‘एमालेलाई समाजमा राख्नु हुन्न भनेर हामीलाई छानि छानि निकाले । आज उसैलाई एमालेले बेहुली बनाएर पार्टीमा प्रवेश गरायो ।’

एकीकृतमा लेबी तिर्न बाँकी

नेकपा एकीकृतबाट सभासद भएका पन्तले अहिलेसम्म पनि पार्टीको लेबी तिरेका छैनन् । स्रोतका अनुसार पन्तले सुरुका एक वर्ष लेबि तिरेका थिए । त्यस यता भने उनले लेबी तिरेका छैनन् । पार्टीलाई आर्थिक सहयोग गर्ने भन्ने उद्देश्यले सभासद बनाएको एकीकृतका नेता पन्तको यस्तो व्यवहारबाट पछिल्ला दिनमा आजित बनेको स्रोतको दाबी छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us