सिंहदरवार त पैसा जुटाउने ठाउँ हो : रेग्मी

काठमाण्डु टुडे २०७० भदौ १७ गते ११:२६ मा प्रकाशित

khilrajकाठमाण्डु, १७ भदौ–मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले सरकारका योजना जनतामुखी नभएको स्वीकार गरेका छन् । विकासका योजना कागजमा मात्र सिमित हुँदा जनताको व्यवहारमा विकासको अनुभूति गर्न नपाएको उनको भनाई छ ।

राष्ट्रिय योजना आयोगले आयोजना गरेको राष्ट्रिय विकास समस्या समाधान समितिको ३० औं बैठकलाई सोमबार काठमाण्डुमा सम्बोधन गर्दै रेग्मीले भने, ‘अब विकासका योजना सिंहदरबार बसेर होइन, जनताको पिँढी र आँगनमा बसेर बनाइनुपर्छ अनि मात्र दिगो र अपनत्व हुन्छ । सिंहदरबार त विकासलाई चाहिने पैसा जुटाउने र समस्याको समाधान खोज्ने  ठाउँ हो ।’ राष्ट्रिय गौरव र पहिलो प्राथमिकता प्राप्त आयोजनाका काममा ढिलासुस्ती नगर्न सम्बन्धित मन्त्रालयलाई उनले निर्देशनसमेत दिएका छन् ।

बैठकमा गृहमन्त्री माधव घिमिरेले शान्ति सुरक्षाको अवस्था सुदृढ रहेको, सहरी विकास मन्त्री छविराज पन्तले मेलम्ची खानेपानी आयोजनाको काम द्रुत रुपमा भइराखेको, संस्कृति पर्यटन तथा नागरिक उड्डेयनमन्त्री रामकुमार श्रेष्ठले क्षेत्रीय विमानस्थल निर्माणका काम भइराखेको जानकारी गराएका थिए ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. रवीन्द्रकुमार शाक्यले सहस्राब्दी विकास लक्ष्य, त्रि–वर्षीय योजनाको प्रगति तथा पहिलो प्राथमिकता र राष्ट्रिय गौरवका आयोजनाका वार्षिक प्रगतिबारे जानकारी गराएका थिए ।

यसैगरी मुख्य सचिव लीलामणि पौडेलले काठमाडौंको सडक विस्तारको कामलाई समयमा नै सम्पन्न गर्न, थप  विद्युत्भार कटौती आउन नदिन र दुर्गम क्षेत्रमा कर्मचारीको अनुपस्थिति अन्त्य गर्न ध्यान दिन आग्रह गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us