प्रयोगशालाका कामदार दीर्घ रोगी

काठमाण्डु टुडे २०७० भदौ १७ गते ९:५२ मा प्रकाशित

people-working-in-a-chemistry-labकाठमाण्डु, १७ भदौ– के तपाईं प्रयोगशालामा काम गर्नु हुन्छ ? यदी गर्नुहुन्छ भने तपाईंको आयु दिनप्रतिदिन कम हुँदै गएको छ । प्रयोगशालाभित्र रहेर विभिन्न अनुसन्धान गर्नेहरु मिर्गौलाको रोगी र सुस्त मनस्थितिको समस्या देखापरेको छ । कतिपयको त प्रयोगशालामा काम गरेकै कारण मृत्युसमेत हुने गरेको तथ्य सार्बजनिक गरेको छ । नेपाल सरकारले गरेको अध्ययन अनुसन्धानबाट यस्तो तथ्य पत्ता लागेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव कृष्णहरि बास्कोटा संयोजकत्वको प्रयोगशाला अध्ययन कार्यदलले सोमबार मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीलाई बुझाएको अध्ययन प्रतिवेदनमा प्रयोगशालामा काम गर्नेहरु दिर्घ रोगी हुने र अकालमा ज्यान जाने गरेको उल्लेख छ । ‘कतिपय कर्मचारीको प्रयोगशालामा काम गरेकै कारण मृत्युसमेत हुने गरेको, मिर्गाैलामा असर परेको, सुस्त मनस्थिति हुने गरेको पाइएको छ,’ संयोजक बास्कोटाले भने ।

प्रयोगशालामा कार्यरत कर्मचारीको मनोबल उच्च राख्न २५ प्रतिशत तलब वृद्धि गर्न कार्यदलले सुझावसमेत दिएको छ । सरकारका विभिन्न मन्त्रालयअन्तर्गत २०२ वटा प्रयोगशाला छन् । त्यहाँ ५ सय कर्मचारी कार्यरत छन् । ति कर्मचारीहरुलाई १७ प्रतिशतले तलब बढाउँदा सरकारलाई १७ करोड रुपैयाँ थप भार पर्नेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us