गगन थापा चार नम्बरमा

काठमाण्डु टुडे २०७० भदौ १७ गते ८:३६ मा प्रकाशित

Gagan-Thapaकाठमाण्डु, १७ भदौ– नेपाली कांग्रेस काठमाण्डु ४ नम्बर क्षेत्रीय समितिले केन्द्रीय सदस्य गगन थापालाई प्रत्यक्षतर्फको उम्मेदवारमा सर्वसम्मतिले सिफारिस गरेको छ । काठमाण्डु क्षेत्र नम्बर ४ को कांग्रेस क्षेत्रीय समितिले गगन थापालाई प्रत्यक्षतर्फ उम्मेदवार बनाउने सिफारिस गरेको क्षेत्रीय सभापति न्हुच्छेनारायण श्रेष्ठले जानकारी दिए ।

प्रत्येक निर्वाचनक्षेत्रबाट प्रत्यक्षतर्फ ३ जना र समानुपातिकतर्फ पाँच जनाको नाम सिफारिस गर्न भनिए अनुसार क्षेत्र नम्बर चारबाट अन्य दुई जना स्थानीय नेताको नाम पनि सिफारिस भएको छ । प्रत्यक्षतर्फ सिफारिस भएका अन्य नेताहरुमा चिरञ्जीवी निधि तिवारी र क्षेत्रीय सभापति न्हुच्छेनारायण श्रेष्ठ रहेका छन् ।

पार्टीले पूर्वसभासद सुप्रभा घिमिरे, नेपाल साँस्कृतिक संघका कार्यवाहक अध्यक्ष राजु श्रेष्ठ, स्थानीय काँग्रेस नेताहरु कर्माछेरिङ शेर्पा, आत्माराम पौडेल र अनार सिंह बस्नेतलाई समानुपातिक प्रतिनिधित्वका लागि सिफारिस गरेको छ ।

यसैगरी, ओखलढुंगाको क्षेत्र नम्बर २ बाट काँग्रेसका युवा नेता रामहरि खतिवडालाई सिफारिस गरेको छ । सो क्षेत्र बलबहादुर राई र गोपाल राईको निर्वाचन क्षेत्र हो । खतिवडालाई २०४८ सालदेखि निरन्तर पार्टीको महासमिति सदस्य रहेको, महासमितिका अहिलेसम्म भएका क्षेत्रीय चुनावमा सबैभन्दा बढी मत पाएको र क्षेत्रको लोकप्रिय उम्मेदवार भनी सिफारिसपत्रमा उल्लेख गरिएको छ ।

ओखलढुंगा काँग्रेसले दिएको जानकारी अनुसार क्षेत्र नम्बर २ बाट खतिवडाका अतिरिक्त अशोक कार्की, प्रेमराज राई, रुद्र अधिकारी, नवराज के.सी., जीतेन्द्रबहादुर कार्की, रामजी बाँस्तोला, कुमार लुइटेल, जयबहादुर श्रेष्ठ र शान्ति खड्काको नाम पनि समावेश गरिएको छ । समानुपातिकतर्फ पनि निर्णय हुन बाँकी छ ।

यस्तै क्षेत्र नम्बर १ मा पार्टी सभापति प्रदीप सुनुवार, मित्रसेन दहाल, गोमा के.सी., दिल्ली खनाल, महेश कोर्मोचा, बालकृष्ण दहाल र टेकराज भट्टराई्को नाम समावेश गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us