
विराटनगर, १७ भदौ– नेपाली काँग्रेसकी नेतृ सुजाता कोइरालाले गिरिजा प्रसाद कोइराला समर्थकलाई पार्टीले पाखा लगाउन खोजेको आरोप लगाएकी छन् । सोमबार मोरङको विराटनगरमा पत्रकार सम्मेलन गरी उनले यस्तो आरोप लगाएकी हुन् ।
पार्टी र जनआन्दोलनमा कुनै पनि योगदान नभएकाहरुको नाम चुनावी उम्मेदवारको रुपमा सिफारिस गरेर पठाइएको तर बर्षौंदेखि पार्टीमा योगदान पुर्याएकाहरु भने सिफारिसमा नपरेको भन्दै उनले आक्रोश पोखेकी हुन् । पत्रकार सम्मेलनमा उनले प्रश्न गरिन्, ‘ पार्टी र जनआन्दोलनमा कुनै पनि योगदान नभएकाहरुको नाम सिफारिस गरेर पठाउनु षडयन्त्र नभएर के हो त ?’
उनले मोरङ क्षेत्र नम्बर १ बाट समानुपातिकमा नपारिने भए क्षेत्र नम्बर ४ बाट प्रत्यक्ष उम्मेदवारको रुपमा आफूलाई सिफारिस गर्न उनले क्षेत्रीय समितिलाई आग्रह गरेकी थिइन् । तर उनी सिफारिसमा परेकी छै्रनन् । त्यसैको रिस उनले सोमबार पत्रकार सम्मेलनमा पोखेको जानकारहरु बताउँछन् ।
उनले नामै तोकेर केन्द्रीय सदस्य आमोद प्रसाद उपाध्यायले काखा–पाखाको व्यवहार देखाएको आरोप लगाईन् । ‘आमोद दाईले पार्टीका इमान्दार नेता कार्यकर्तालाई पाखा लगाउनु भएको छ,’ कोइरालाले भनिन् ।