इन्द्रजात्रा मनाउन समारोह समिति गठन

काठमाण्डु टुडे २०७० भदौ १७ गते ७:५२ मा प्रकाशित

Indra jatraकाठमाण्डु, १७ भदौ । काठमाण्डुमा इन्द्रजात्रा मनाउन नेवाः जागरण मञ्चका अध्यक्ष सुजीव वज्राचार्यको संयोजकत्वमा ३८ सदस्यीय समारोह समिति गठन गरिएको छ । इन्द्रजात्रा आगामी असोज २ गते पर्छ ।

समितिमा उपसंयोजक ज्यापू महागुथी काठमाण्डु महानगर समितिका उपाध्यक्ष पञ्चनारायण महर्जन र सचिवमा सोही गुठीका सहसचिव नानिहेरा महर्जन रहेका छन् । सदस्यहरूमा काठमाण्डु महानगरपालिका वडा नम्बर १२, १७, १८, १९, २०, २१, २२, २३, २४, २५, २६, २७, २८, ३० वडाका साथै विभिन्न विभिन्न संघसंस्थाका प्रतिनिधि रहेका छन् ।

काठमाण्डु महानगरपालिका पूर्व जनप्रतिनिधिहरू चक्रमान डङ्गोल, चन्द्रानन्द नेवाः, शशिलाल श्रेष्ठ, विजयकृष्ण श्रेष्ठ, विद्यासुन्दर शाक्य, पवित्र वज्राचार्य, जुद्धरत्न वज्राचार्य, विकासभक्त श्रेष्ठ, श्याम चित्रकार, बाबुराजा महर्जन, सुभानकुमार श्रेष्ठ, चिनियामान वज्राचार्य र इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतम शाक्यलाई सल्लाहकार चयन गरिएको छ ।

समितिले जात्रा हिँडाइने बाटोको मर्मत र जात्रा अवधिभर लोडसेडिङ हटाउनका लागि र बाटोमा रहेको विद्युत् तार व्यवस्थापनका लागि यज्ञ तुलाधरको प्रमुखतामा पुरुषोत्तम वज्राचार्य र जीवेन्द्रलाल कर्माचार्य सदस्य रहेको समिति गठन गरेको छ ।

जात्रामा नेवार परम्परागत बाजा व्यवस्थापनका लागि उपसंयोजक पञ्चनारायण महर्जनको संयोजकत्वमा सुनिता महर्जन रहेको समिति तथा इन्द्रजात्राको अन्तिम दिन नानिचा याःका दिन महिलाहरूले रथ तान्ने व्यवस्थाका लागि नानीहेरा महर्जनको संयोजकत्वमा समिति गठन गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us