निर्बाचन परिचालन कमिटीको नेतृत्वमा एमालेमा विवाद

काठमाण्डु टुडे २०७० भदौ १७ गते ४:३० मा प्रकाशित

CPN-UMLकाठमाण्डु, १७ भदौ- नेकपा एमालेमा निर्बाचन परिचालन कमिटीको नेतृत्वलाई लिएर विवाद भएको छ । नेतृत्वमा अध्यक्ष झलनाथ खनाल, बरिष्ठ नेता केपी ओली र महासचिव इश्वर पोख्रेलले दावी गरेका छन् ।

नेताहरुबीच यसमा सहमतिको प्रयास जारी छ । सहमति जुटेपछि सोमबारको केन्द्रीय कमिटी बैठकमा अनुमोदनकालागि पेश गरिने छ ।

यसअघिको स्थायी कमिटीको बैठकले निर्बाचन परिचालन कमिटीको नेतृत्व प्रत्यक्षतर्फ चुनाव नलड्ने नेतालाई दिने निर्णय गरिसकेको छ । त्यसैले समानुपातिक तर्फको उम्मेदवारलाई परिचालन कमिटीको नेतृत्व दिनुपर्ने बाध्यता छ ।  ‘प्रत्यक्ष तर्फ चुनाव लड्दा हारिने डरले निर्बाचन परिचालनको नेतृत्वमा रहन नेताहरुबीच हानथाप छ,’ एमालेका एक नेताले भने ।

घोषणापत्र निर्माण कमिटीमा पनि नेताहरुबीच एकमत छैन । तर, एमाले सचिव शंकर पोख्रेलले भने विवाद भएको भन्ने कुरा अस्वीकार गरे । उनले पार्टीभित्र छलफल बहस हुनु सामान्य भएको बताए । ‘हामीहरुबीच कुनै पनि विषयमा विवाद छैन । यो प्रचारबाजी मात्रै हो,’ काठमाण्डु टुडेसँग कुरा गर्दै सचिव पोख्रेलले भने, ‘सोमबारको केन्द्रीय कमिटी बैठकबाट एमाले एकढिक्का भएर चुनावमा होमिन्छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us