कार्यविभाजनमा कुरा नमिलेपछि माओवादी बैठक स्थगित

काठमाण्डु टुडे २०७० भदौ १६ गते १२:२६ मा प्रकाशित

काठमाण्डु, १६ भदौ– एकीकृत माओवादी केन्द्रीय समिति बैठक सोमबारसम्मका लागि स्थगित भएको छ ।
Perisdadaप्रवक्ता अग्नि सापकोटाले गृहकार्य नपुगेका कारण सोमबार बिहान ११ बजे बस्ने गरी बैठक स्थगित भएको काठमाण्डु टुडेलाई जानकारी दिनुभयो । माओवादीले जारी बैठकबाट दोस्रो चरणको चुनावी अभियानसँगै नेताहरुको नयाँ कार्यविभाजनसमेत गर्ने तयारी गरेको छ । केन्द्रीय समिति बैठकअघि गृहकार्यका लागि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को लाजिम्पाटस्थित निवासमा पूर्वपदाधिकारी, ब्युरो इन्चार्ज र संगठन विभागको संयुक्त बैठक बसेको थियो ।

स्रोतका अनुसार माओवादीले सबै ब्युरो इन्चार्ज, राज्य संयोजक र अधिकांश जिल्ला इन्चार्ज परिवर्तन गर्न लागेको छ । प्रवक्ता सापकोटाले चुनावको मुखमा द्वन्द्वकालीन मुद्दा ब्युँताएर पार्टी नेता तथा कार्यकर्ता फसाउन षड्यन्त्र भइरहेको विषयमा समेत थप छलफल गर्नुपरेकाले बैठक स्थगन भएको बताए । स्रोतका अुनसार कार्यविभाजनमा विवाद भएको छ । आकांक्षी धेरै भएकाले शीर्षतहका कुरा मिलाउन कठिन भएको एक नेताले बताए ।

संविधानसभा निर्वाचन उम्मेद्वार चयनबारे भने तत्काल निर्णय नहुने एक नेताले जानकारी दिए । समय पर्याप्त रहेकाले भदौभित्र अन्तिम टुंगोमा पुगिने ती नेताले बताए । एक महिने जनसम्वन्ध सुदृढीकरण अभियानका क्रममा देशभरका २ सय ४० निर्वाचन क्षेत्रबाट पाँच जनासम्मको नाम सिफारिस गरिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us