‘गोलमेच गरेर माओवादीलाई चुनावमा ल्याउनु पर्छ’

काठमाण्डु टुडे २०७० भदौ १६ गते १०:५१ मा प्रकाशित

काठमाण्डु, १६ भदौ । नेपाली काँग्रेस र नेकपा एमालेका नेताहरुले गोलमेच सम्मेलन गरेर भए पनि नेकपा–माओवादी सहितका असन्तुष्ट दलहरुलाई निर्वाचनमा ल्याउनु पर्ने धारणा राखेका छन् ।

आईतवार काठमाण्डुमा भएको साक्षात्कारमा काँग्रेसका नेता डा. नारायण खड्काले नेकपा–माओवादी चुनावप्रति दिन प्रतिदिन लचिलो बन्दै गएको भन्दै उनीहरुले उठाएको गोलमेच सम्मेलनको मागमा अरु दलहरु तयार हुनु पर्ने बताए । उनले भने, ‘संविधानसभाको निर्वाचन हुनु हुँदैन भन्ने मागमा माओवादी लचिलो भईसकेको छ । अब अरु विषयमा छलफल गर्न अरु तयार हुनु पर्छ ।’

नेकपा एमालेका प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले माओवादी सहितका असन्तुष्ट दलहरुलाई निर्वाचनमा ल्याउन गोलमेच सम्मेलनमा जान आपत्ति नभए पनि अकस्मात गोलमेच सम्मेलन गर्ने सहमति कसरी भाडियो आफू आश्चर्यमा परेको बताए । असन्तुष्टलाई ल्याउन हदैसम्मको लचिलो हुन तयार हुनु पर्ने भए पनि संविधानसभाबाट बाहिरबाट संविधान बनाउने प्रस्ताव, राष्ट्रियताको नाममा पूर्व राजवादीहरुसँगको साँठगाँठको प्रयास र बहिस्कारको नाममा अर्को हिंसाको तयारीले माओवादीहरुको नियतप्रति नै आशंका जन्मेको दावी गरे ।

यसैगरी नेकपा मालेका महासचिव सीपी मैनालीले विगतको द्वन्द्वको एक प्रमुख पक्ष नेकपा–माओवादीलाई बाहिर राखेर गरिने निर्वाचनले शान्ति र निकास नदिने बरु मुलुकलाई अर्को द्वन्द्वमा फसाउने तर्फ सचेत पार्दै सबैलाई समेटेर निर्वाचन गर्न सुझाव दिए । उनले भने, ‘मंसिर ४ गतेकोलागि घोषित निर्वाचनको मिति सारेर भए पनि सबैलाई निर्वाचनमा ल्याउनु पर्छ । हिजो मधेसी दलहरुले भन्दा चुनाव सार्ने अहिले यत्रो ठूलो शक्तिले भन्दा किन नमान्ने ?’

राष्ट्रिय प्रजातन्त्र पार्टीको उच्चस्तरीय कार्य सम्पादन समितिका सदस्य पशुपति समशेर राणाले नेकपा–माओवादी सहितका ३३ दललाई बाहिर राखेर निर्वाचन गर्दा त्यस्तो संविधानसभाले संविधान दिन नसक्ने दावी गर्दै चार दलले हदैसम्मको लचक भएर उनीहरुलाई निर्वाचनमा ल्याउनु पर्ने बताए ।

सदभावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले अबको निर्वाचनले मिलिजुली भन्दा पनि कुनै दललाई स्पष्ट बहुमत दिनु पर्ने भन्दै मिलिजुली सरकार भए फेरि पनि पहिलेको जस्तै अस्थिरता हुने दावी गरे ।

उनले आगामि निर्वाचनमा मधेसवादी दलहरु एउटै मोर्चा बनाएर निर्वाचनमा जाने ठोकुवा गरे । एउटै मोर्चा बनाउने सहमति भईसकेका तमलोपा र फोरम लोकतान्त्रिकसँग आफूहरु पनि मोर्चा बन्दी गरेर जाने र त्यसकोलागि सोमबारबाटै बार्ता प्रक्रिया सुरु हुने उनले जानकारी दिए । उनले त्यस्तो मोर्चामा उपेन्द्र यादवसहित मधेसको मुद्दामा सकारात्मक हुने सबै दल सहभागि हुन सक्ने स्पष्ट पारे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us