
पोखरा, १६ भदौ – काठमाण्डु, १६ भदौ – आन्दोलनमार्फत् चुनाव विथोल्ने घोषणा गरेको नेकपा–माओवादी लगायत असन्तुष्ट दलहरुलाई सहमतिमा ल्याउन अन्तिम समयसम्म प्रयास गर्ने बताउँदै आए पनि ठूला दलहरुले समयसीमा तोक्ने गरेका छैनन् । तर, उच्चस्तरीय समितिको संयोजकको जिम्मेवारी पाएको नेपाली काँग्रेसले भने वैद्यलाई पर्खिने समयसीमा तोकेको छ ।
नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले वैद्य समूहलाई चुनावमा उम्मेदवारी दिने दिनसम्म कुर्ने र त्यो दिनसम्म पनि उनीहरू चुनावमा नआए मंसिर ४ गते चुनाव गराएरै छाड्ने बताएका छन् । नेपाल प्रेस युनियन कास्कीले आइतबार पोखरामा गरेको पत्रकार भेटघाटमा उनले चुनाव बहिष्कार गर्न खोजेका दलहरूलाई सहमतिमा ल्याउन अन्तिम समयसम्म कोसिस गर्ने बताए ।
‘वैद्यजीहरूले संविधानसभाको नारा लगाएर दस वर्षसम्म हजारौंको बलिदान गर्नुभयो, आज फेरि संविधानसभा हुन दिन्न भनेर नेपाली जनतालाई बलिदान दिन खोज्नु यो कस्तो विडम्बना हो, ?’ उपसभापति पौडेलले भने, ‘अब नेपाली जनता चुप लाएर बस्दैनन्, न्याय गरेरै छाड्छन् ।’
संविधानसभा निर्वाचनपछि ६ महिनाभित्र संविधानको रूपरेखा तयार गर्ने र एक वर्षभित्र संविधान जारी गर्ने काँग्रेसको मार्गचित्र प्रस्तुत गर्दै उनले निर्वाचन लगत्तै चैत–वैशाख महिनाभित्रैमा स्थानीय निकायको निर्वाचन सम्पन्न गर्ने जिकीर गरे ।