मन्त्रिपरिषदका अध्यक्ष न्यूयोर्क,मुख्य सचिव तिब्बत जाँदै

काठमाण्डु टुडे २०७० भदौ ८ गते १२:१० मा प्रकाशित

khilrajlila

काठमाण्डु १० भदौ–संबिधानसभा निर्वाचन नजिकिदै गर्दा चुनावी मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मी र मुख्य सचिव लिलामणि पौडयाल बिदेश भ्रमण गर्दैछन ।

संयुक्त राष्ट्रसंघको ६८ औ महासभामा भाग लिन मन्त्रिपरिषदका अध्यक्ष रेग्मीको नेतृत्वमा एक प्रतिनिधिमण्डल आगामी असोज ५ देखि १४ गतेसम्म न्यूयोर्क जान लागेको हो । परराष्ट्रमन्त्री माधव घिमिरे,परराष्ट्रसचिव अर्जुनबहादुर थापासहित करीव एक दर्जन न्यूयोर्क जान लागेको हो । न्यूयोर्कमा अध्यक्ष रेग्मीले भारतीय प्रधानमन्त्री डा मनमोहन सिंह र चिनिया बिदेशमन्त्री वाङ यीसँग भेटवार्ता गर्दैछन भने अमेरिकी राष्ट्रपति बाराक ओबामाले दिने रात्रीभोजमा सहभागी हुनेछन ।
मुख्य सचिव लिलामणि पौडयाल भदौ २० देखि २४ सम्म चीनको स्वशासित क्षेत्र तिब्बतको सिगात्चेमा हुने आर्थिक तथा व्यापार मेलामा भाग लिन त्यसतर्फ जाँदैछन ।
जल तथा उर्जा आयोगका सचिव डा कृष्णचन्द्र पौडेल सेप्टेम्बर १० देखि १४ सम्म हुने अन्तराष्ट्रिय साझेदारी सम्बन्धी बिश्व सम्मेलनका लागि जापान जाँदैछन ।
कानुन मन्त्री हरिप्रसाद न्यौपाने नेतृत्वको प्रतिनिधिमण्डल भदौ २४ देखि २७ गते हुने एशियाली कानुन परामर्श दातृ संगठनको ५२ औ अधिवेशनमा भाग लिन नयाँ दिल्ली जाँदैछ ।
भदौ २५ देखि २७ सम्म हुने एशिया प्यासिफिक क्षेत्रीय पुनरावलोकन समूहको बैठकमा कानुन न्याय संबिधानसभा तथा संसदीय मामिला मन्त्रालयका सचिव भेषराज शर्माको नेतृत्वमा ६ सदस्यीय प्रतिनिधिमण्डल मलेसियाको राजधानी क्वालालामपुर जाँदैछ ।
अन्तराष्ट्रिय आणविक उर्जा ऐजेन्सीको आयोजनामा भदौ ३१ देखि असोज ४ गतेसम्म अष्ट्रियाको भियनामा हुने आइएइएको ५७ औ साधारणसभामा विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयका सचिव सोमलाल सुवेदीको नेतृत्वको एक टोली त्यस तर्फ जाँदैछ ।
भदौ २४ देखि २५ सम्म पेरिसमा हुने यूनेस्कोको कार्यक्रममा शिक्षा मन्त्रालयका सचिव नारायण गोपाल मलेगोले त्यस तर्फ जाँदैछन ।
संस्कृति,पर्यटन तथा नागरिक उडयन मन्त्री रामकुमार श्रेष्ठको नेतृत्वमा ६ सदस्यीय प्रतिनिधि मण्डल सेप्टेम्बर २४ देखि अक्टुवर ४ सम्म अन्तराष्ट्रिय नागरिक उडयन संगठन (आइकाव)को ३८ औ महासभामा भाग लिन त्यसतर्फ जाँदैछ ।
भदौ ११ देखि १६ सम्म रुसमा आयोजना हुने साँस्कृतिक क्षेत्रका संभावना सम्बन्धी कार्यक्रम भाग लिन संस्कृति मन्त्रालयका सचिव सुशिल घिमिरे र सहसचिव भरतमणि सुवेदी त्यसतर्फ जाँदैछन ।

परराष्ट्र सचिव अर्जुनबहादुर थापाको नेतृत्वमा एक प्रतिनिधिमण्डल सचिवस्तरिय परामर्श समितिको बैठकका लागि अहिले चीनमा छन । सो बैठकमा शनिवारदेखि भदौ १३ गतेसम्म हुनेछ । चीनको बेइजिङमा आगामी कात्तिक ५ देखि १० सम्म हुने सर्वोच्च लेखा परीक्षण संस्थाहरुको अन्तराष्ट्रिय संगठनको २१ औ महाधिवेशनमा भाग लिन महालेखा परीक्षक भानुप्रसाद आचार्य नेतृत्वमा उपमहालेखा परीक्षक बिमला सुवेदी र नायवमहालेखा परीक्षक बिश्वनाथ रेग्मीसहितको टोली पनि चीन जाँदैछ ।

भारतको नयाँ दिल्लीमा भदौ २५ देखि २८ सम्म दक्षिणपूर्वी एशिया क्षेत्रका स्वास्थ्य मन्त्रीहरुको ३१ औ बैठक तथा बिश्व स्वास्थ्य संगठनको दक्षिणपूर्व एशिया क्षेत्रको ६६ औ बैठकमा भाग लिन स्वास्थ्य तथा जनसंख्या मन्त्री बिद्याधर मल्लिक र सचिव डा प्रविण मिश्र त्यस तर्फ जाँदैछन ।
उपरथी प्रदीप बिक्रम राणा आगामी भदौ ३१ देखि असोज ४ गतेसम्म  पोर्ट भिला भानुआटुमा सञ्चालन हुने प्यासिफिक एरिया सिनियर अफिसर्स लजिस्टिक सेमिनारमा सहभागी हुन त्यसतर्फ जाँदैछन ।
अमेरिकाको वासिङटन डिसीमा आगामी असोज २५ गते देखि २७ सम्म हुने  बिश्व बैंक समूह र अन्तराष्ट्रिय मुद्राकोषको संयुक्त बैठकमा भाग लिन अर्थमन्त्री शंकर कोइरालाको नेतृत्वमा एक प्रतिनिधिमण्डल अमेरिका जाँदैछ । वासिङटन डिसीमा असोज १५ देखि १८ गतेसम्म हुने तराई भू–परिधि कार्यक्रमको दोस्रो चरणको रणनीतिक योजना तर्जुमा सम्बन्धी वन तथा भू–संरक्षण मन्त्रालयका सचिव डा गणेशराज जोशीको नेतृत्वमा तीन सदस्यीय टोली अमेरिका जाँदैछ ।
ब्राजिलको ब्रासिलियामा असोज २२ देखि २४ सम्म हुने तेस्रो अन्तराष्ट्रिय बालश्रम  सम्मेलनमा श्रम तथा रोजगार मन्त्री हरिप्रसाद न्यौपानको नेतृत्वमा श्रम तथा रोजगार बिभागका महानिर्देशक कृष्णहरि पुस्कर कर्ण,नेपाल उद्योग बाणिज्य महासंघका सदस्य उदयराज पाण्डे ,अखिल नेपाल टे«ड युनियन महासंघका उपमहासचिव जगत सिम्खडा र बाल बिकास समाजका युवराज रोक्का त्यसतर्फ जाँदैछन ।

माओको गाउँमा जाँदै माओवादीका १२ नेता

एकीकृत माओवादीका १२ जना नेता शनिबार राति उत्तर छिमेकी चीनको १० दिने भ्रमणमा गएका छन। सो पार्टीका अन्तराष्ट्रिय ब्युरो प्रमुख राम कार्की र अन्तर्राष्ट्रिय ब्युरो एशिया प्यासिफिक क्षेत्रका इन्चार्ज युवराज चौलागाईंको नेतृत्वमा १२ सदस्यीय टोलीले चीन  गएको हो । चिनिया कम्युनिष्ट पार्टीको विदेश विभागको निमन्त्रणामा जान लागेको सो टोलीमा केन्द्रीय सदस्य रेणु दाहाल,पूर्वविद्यार्थी नेतृ बन्दना सुवेदी, सहिद रितबहादुर खड्काका भाई एवम् दोलखाका नेता विशाल खड्का र पत्रकार ध्रुव अधिकारी छन ।

यस्तै टोलीमा दैलेखका एमाओवादी नेता छवि सुवेदी, जनयुद्धका घाइते गंगाबहादुर लामा, सप्तरीका नेता मनोज चौधरी, तेह्रथुमकी नेतृ टीका कन्दङवा,सोलुखुम्बुका शिवबहादुर बस्नेत, झापाकी नेतृ धनमाया चौहान छन् ।

टोली सदस्य चौलागाईंका अनुसार टोली ग्वाङझाओ हुँदै बेइजिङ पुग्नेछ । टोलीले बेइजिङमा चार दिन, साङहाइमा तीन दिन र चिनिया कम्युनिष्ट पार्टीका नेता माओत्सेतुङको जन्मस्थल हेनान प्रान्तको चाङसाओको भ्रमण गर्ने कार्यक्रम तय भएको चौलागाईंले बताए । ‘चिनिया कम्युनिष्ट पार्टीको संरचना, पार्टी पद्दति र स्कुलिङका बारेमा अध्ययन भ्रमण हुनेछ’, चौलागाईंले काठमाण्डु टुडेसँग भने ।

यसअघि नेपाली काँग्रेस र एमालेका १०–१० जना नेता र नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य र उपाध्यक्ष सिपी गजुरेलले चीन भ्रमण गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us