कसैको वैशाखी टेक्न नपर्ने गरी बहुमत देऊ: प्रचण्ड

काठमाण्डु टुडे २०७० भदौ ६ गते १२:३२ मा प्रकाशित

काभ्रे, ६ भदौ –एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गत संविधानसभा निर्वाचनमा पार्टीको स्पष्ट बहुमत नआएका कारण सरकार गठनका लागि एमाले र मधेसी दलको वैशाखी टेक्नुपरेको बताएका छन् ।
prachandaपार्टी युवा संगठन योङ कम्युनिष्ट लिग वाइसीएलको ताम्सालीङ सम्मेलनको बिहीबार काभ्रेको बनेपामा उद्घाटन गर्दै उनले आगामी निर्वाचनमा कसैको वैशाखी टेक्नु नपर्ने हैसियत दिन आम जनतालाई अपिल गरे । ‘गएको संविधानसभामा जनताले ठूलो पार्टी त बनाए, तर म आफ्नै पार्टीको बलमा प्रधानमन्त्री हुन सकिन’, उनले भने, ‘स्पष्ट बहुमत नआउँदा प्रधानमन्त्री बन्न एमाले र मधेसवादीको सहारा लिनुपर्‍यो ।’

प्रधानमन्त्री हुँदा सरकारभित्रै रहेको एमालेका कारण प्रभावकारी ढंगले जनताका पक्षमा काम गर्ने नसकेको दाबी उनको छ । सरकारको निर्देशन नमान्ने तत्कालीन प्रधानसेनापति रुक्मांगत कटवालमाथि कारबाही गर्न पहिला सहमति जनाएको र पछि एमाले नेताहरुले धोका दिएको आरोप प्रचण्डले लगाए । एमालेले आफूलाई रुख चढाएर फेद काट्न खोजेको आरोप उनको छ ।

जनतालाई न्यायाधीशको संज्ञा दिँदै उनले  आसन्न संविधानसभा निर्वाचनमा आफ्नो पार्टीलाई बहुमत दिन आग्रह गरे । आफ्नो पार्टीको बहुमत आए निर्वाचन भएको ६ महिनामै संविधानको मस्यौदा तयार हुने र १ वर्षभित्र संविधान जारी हुने जिकिर गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us