
काठमाण्डु, ६ भदौ – एमालेले आसन्न संविधानसभा निर्वाचनका लागि उम्मेद्वार सिफारिस गर्न जिल्ला कमिटीहरुलाई निर्देशन दिएको छ ।
पार्टी मुख्यालय बल्खुमा बिहीबार बसेको स्थायी कमिटी बैठकले देशका २ सय ४० वटै निर्वाचन क्षेत्रबाट प्रत्यक्ष र समानुपातिक उम्मेद्वारको नाम केन्द्रमा पठाउन जिल्ला र क्षेत्रीय कमिटीलाई निर्देशन दिएको हो । त्यसका लागि आगामी २० भदौसम्मको समय दिइएको छ ।
स्थायी कमिटीले प्रत्येक निर्वाचन क्षेत्रबाट एक महिलासहित तीन जनाका दरले सम्भावित उम्मेद्वारको नाम पठाउन भनिएको सचिव युवराज ज्ञवालीले बताए । सिफारिस भएर आएका नामलाई भदौ मसान्तसम्मभित्रै अन्तिम रुप दिने पौडेलले जनाए । उनका अनुसार उम्मेदवार छनौटका लागि ६ बुँदे मापदण्डसमेत तय गरिएको छ ।
यस्तै बैठकले निर्वाचनका लागि आर्थिक स्रोत जुटाउन नेता भरतमोहन अधिकारी संयोजकत्वमा आर्थिक समिति गठन गरेको छ ।
स्रोतका अनुसार गत संविधानसभामा समानुपातिक सभासद् भइसकेकालाई यसपटक सभासद् नबनाउने भएको छ । विशेषज्ञ, दलित, महिला, जनजाति र तराई क्षेत्रको हकमा भने पूरानालाई पनि उम्मेद्वार बनाउन सकिने एमालेले जनाएको छ ।