भत्किएको माधव–ओली गठबन्धन

काठमाण्डु टुडे २०७० भदौ ५ गते २:४३ मा प्रकाशित

काठमाण्डु  ५ भदौ -नेकपा एमालेमा बरिष्ठ नेता माधवकुमार नेपाल र प्रभावशाली नेता केपी शर्मा ओली वीचको गठबन्धन भत्किएको छ । अध्यक्ष झलनाथ खनालसँगको गठबन्धनलाई माधवले कसिलो बनाउदै लगेका छन ।

oli-madhavपार्टी भित्रको शक्तिसन्तुलन बिश्लेषण गरी आगामी नवौ महाधिवेशनबाट आफू पार्टीको कार्यकारी अध्यक्ष बन्नका लागि माधवले ओलीसँगको गठबन्धन तोडेर खनालसँग निकटता बढाएका हुन ।
माधव–खनाल गठबन्धनको प्रतिबिम्बन एमालेको स्थायी समिति,पोलिटव्यूरो,केन्द्रीय समिति र जनवर्गीय संगठनमा देखिइसकेका छन । मंसिर ४ गतेको निर्वाचनलाई ध्यान दिदै एमाले स्थायी समितिको बुधवार बसेको बैठकले पार्टी भित्रका विवाद तत्कालका लागि थाती राख्ने निर्णय गरेको छ । मंसिरमा निर्वाचन भएमा फागुनमा र चैतमा निर्वाचन हुने अवस्थामा मंसिरमा महाधिवेशन गर्नु पर्ने माग केपी ओली पक्षधर नेताहरुले गरेका छन ।

युवा संघका अध्यक्ष महेश बस्नेत मार्फत ओलीले आफूलाई संबिधानसभा निर्वाचनपछि बन्ने सरकारको प्रधानमन्त्रीका रुपमा प्रस्ताव पनि गरिसकेका छन । पार्टीलाई आफनो नेतृत्वमा ल्याई संबिधानसभा निर्वाचनमा जाने चाहना व्यक्त गरेको ओली पक्ष अहिले माधव–खनाल खगठबन्धन देखेर झस्किदै गएको छ । महाधिवेशनमा माधवको साथ पाउने अपेक्षा गर्दै आएका बुटवल महाधिवेशनमा खनालसँग पराजित ओली यति वेला रन्थनिएका छन ।

एमाले उच्चस्रोतका अनुसार खनाल–माधव गठबन्धनले महासचिवमा सुरेन्द्र पाण्डेलाई अघि सारेको छ भने ओली पक्षमा महासचिवका लागि इश्वर पोखरेल र शंकर पोखरेल वीच प्रतिस्पर्धा छ ।
माधव–ओली वीच आगामी महाधिवेशनमा प्रतिस्पर्धा हुने देखिदैछ । त्यसका लागि दुवै नेताले आन्तरिक तयारी थालिसकेका छन ।

युवासँग भित्रको विवाद र सो संगठनका भेला प्रशिक्षणमा देखिएको बिभाजन पनि महाधिवेशन अघिको ट्रेलर हो । काँग्रेसको बैशाखी टेकेर प्रधानमन्त्री र पार्टी अध्यक्ष हुने अपेक्षामा रहेका ओलीको महत्वकाँक्षालाई माधवले तुषारापात गरिदिने खतरा बढेर गएको छ । खनाल एकीकृत माओवादीको र माधव काँग्रेसको बैशाखी टेकेर प्रधानमन्त्री भइसकेका छन । राजनीति दाउपेचहरुको खेल हो भन्ने मान्यता एमालेको आन्तरिक राजनीतिमा प्रष्टिदै गएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us