द्धन्द्धको अवशेष बोक्दै छन बालबालिका

काठमाण्डु टुडे २०७० भदौ ४ गते १७:३९ मा प्रकाशित

अमरजित पुनमगर

रोल्पा,४ भदौ-‘हामी गरिब मान्छे उपचार गर्ने कुरा त कता हो कता लिवाङसम्म आउने भाडासमेत हुँदैन’ तत्कालीन नेकपा माओवादी र सत्तापक्ष वीचको १० बर्षे  सशस्त्र द्धन्द्धका बेला बम विष्फोटबाट घाइते भई शरीरभरि बमका छर्रा बोकेका रोल्पा पाखापानीका बालबालिकाको पीडा हो यो। विसं २०६२ वैशाख १० गते नुहाउन भनेर धारामा पुगेका पाखापानी-१ दलसिङेका पाँच बालबालिकाले सो घटनामा ज्यान गुमाएका थिए। घटनामा ११ बर्षीय जङ्गबहादुर वली, १२ बर्षीय विष्णु वली, सात बर्षीय जयबहादुर वली, तीर्थराज वली र शेरबहादुर वलीले बेवारिसे बम खेलौना भनी खेलाउँदा ज्यान गुमाएका थिए भने ६ बर्षीय जयकली वली, आठ बर्षीय ललिता वली, तीन बर्षीय रत्न वली, १० बर्षीय अमृत वली र १४ बर्षीय फौँडबहादुर वली अङ्गभङ्ग भई बाँच्न विवश छन्।

सशस्त्र  द्धन्द्धसकिएर देश गणतन्त्रसम्म आइपुग्दासमेत उनीहरूका बारेमा कसैले वकालत गरेका छैनन्। बमको छर्राले चिसो तातो मौसममा सहनै गाह्रो हुने बताउँदै ११ बर्षीय रत्नबहादुर वली भन्छन्, पढ्ने बेला र अलि दिमाग खियाउने काममा निकै टाउको दुख्छ। तत्कालीन नेकपा माओवादीको जनमुक्ति सेना र शाही नेपाली सेनाबीच २०६१ चैतमा दलसिङेमा दोहोरो भिडन्त भएको थियो। भिडन्तका क्रममा बेवारिसे छोडिएका बम विष्फोट भई बालबालिकाको मृत्यु तथा घाइते भएको अभिभावकको भनाइ छ। आफ्नो ११ बर्षीय छोरा जङ्गबहादुर वली गुमाएको र १३ बर्षीय छोरी जयकली घाइते भएको दुखद घटना सम्झिँदै बुबा बिरु वलीले सशस्त्र युद्धले आफूहरूको घरपरिवारको विचल्ली भएको दुखेसो सुनाए।’ घाइते छोरीको निधार र शरीरका विभिन्न भागमा अहिले पनि बमका छर्रा रहेका छन्। उपचार गर्ने आर्थिक अवस्था कमजोर छ। कसैले उपचारमा सहयोग गरेका छैनन्’उनी भन्छन ‘छोरी छर्राले गर्दा बिरामीमात्र भइरहन्छे। पाँच बालबालिकाको शरीरभरि बमका छर्रा रहेका छन्।‘

अभिभावकका अनुसार घाइते बालबालिकालाई घटना भए लगत्तै रुकुमको सल्ले अस्पतालमा सामान्य उपचारपछि घर फर्काइएको थियो। शान्ति प्रक्रियापछि काठमाडाको कान्ति बाल अस्पतालमा उपचारका लागि लगिए पनि आर्थिक अवस्था कमजोर भएकाले बमको छर्रा निकाल्न नसकिएको घाइते फौँडका बुबा बलबहादुरको भनाइ छ। कान्ति बाल अस्पतालले फौँडको शरीरमा सातवटा बमको छर्रा रहेको पुष्टि गरेको छ। उनको निधार, टाउको, छाती, कम्मर, बायाँ हात, दायाँ खुट्टा र बाँया खुट्टाको पैतालामा बमको छर्रा रहेको छ। उनको छाती र निधारको छर्रा निकाल्दा मात्र रु ५० हजार खर्च भएपछि अभिभावकले घर फर्काएका थिए। बाँकी पाँचवटा छर्रा अझै शरीरमै छन्, बलबहादुर भन्छन ‘रगत र पैसाको अभावमा छोराको उपचार नगरी फर्काएँ।‘ घटनास्थलमै माइलो छोरा गुमाएकी रती वलीका जेठो छोरा अमृत र कान्छो छोरा रत्न पनि गम्भीर छन्। घाइते दुवै छोराको बमको छर्रा निकाल्न नसक्दा उनीहरू बिरामी परिरहने गरेको उनको भनाइ छ। छोराहरू बिरामीमात्र भइरहँदा आमा रतीलाई कस्का लागि काम गर्ने हो र जस्तो लाग्छ। कान्ति बाल अस्पतालमा पु:याएँ। छोराहरूको शरीरभरि बमका छर्रा देखियो, रती भन्छिन ‘छर्रा निकाल्नका लागि रगत र पैसा चाहिने रहेछ। म गरिबले कसरी ल्याउनु, त्यसै फर्काएँ।

अमृतको शरीरको सात ठाउँमा बमका छर्रा छन् भने रत्नको टाउकोभरि छर्रैछर्रा छन्। कम्मर र खुट्टामा मात्र चारवटा छर्रा छन्। पीडाका कारण रत्नको मानसिक अवस्थासमेत राम्रो छैन, रती भन्छिन । यसैगरी घाइते ललिताको देब्रे हात र छातीमा बमका छर्रा रहेका छन्। घाइते बालबालिकाहरू अहिलेसम्म पनि शान्ति तथा पुनर्निर्माण मन्त्रालयमा सूचीकृत भएका छैनन्। गाउँघरमा कसैले जानकारी नदिएकाले घाइते फाराम नै नभरेको अभिभावकहरू बताउँछन्। अहिलेसम्म सरकारबाट कुनै पनि सहयोग नपाएको उनीहरूको भनाइ छ। जसको हात माथि छ, उपचार भत्ता सबै उसैले पाउँदोरहेछ। सरकारले पनि उसैलाई मात्र हेर्दोरैछ। हाम्रो त को छ र।

सामान्य घाइते तथा सशस्त्र युद्धबाट भन्दा पनि अन्य कारणले अपाङ्ग भएकाहरूले समेत उपचार तथा भत्ता पाउने गरेको भन्दै उनीहरूले जनताप्रति उत्तरदायी सरकार हो भने आफूहरूलाई पनि हेर्न आग्रह गरे। पीडितको उपचारका लागि कसैलाई काखा र कसैलाई पाखा नगर्न सरोकारवालालाई उनीहरूको सुझाव छ। सदरमुकाम आएका उनीहरूको बारेमा जिल्ला बाल संरल्लण अधिकृत गोकर्ण पुनले समेत जानकारी लिएका छन । अधिकृत पुनका अनुसार जिल्लामा द्वन्द्वका बेला ८४ बालबालिकाले ज्यान गुमाएका थिए। रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us