काँग्रेस नेता पहाडीको निधन

काठमाण्डु टुडे २०७० भदौ ३ गते २:३३ मा प्रकाशित

काठमाण्डु, ३ भदौ । काँग्रेस केन्द्रीय सदस्य गोपालराज पहाडीको सोमबार बिहान निधन भएको छ ।

gopal pahadiपहाडीको काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचारका क्रममा निधन भएको हो । ६८ वर्षीय पहाडी लामो समयदेखि मुटु, मृगौला, मधुमेह र उच्च रक्तचापजस्ता रोगबाट पीडित थिए । पछिल्लो समय उनका दुवै मृगौलाले काम गर्न छाडेका थिए । स्वास्थ्यमा थप समस्या देखिएपछि उनलाई असार ५ गते उनलाई अस्पताल भर्ना गरिएको थियो ।

बिपी कोइरालाको प्रभावमा २०२५ सालबाट राजनीतिमा लागेका पहाडीले लामो समय नेपालको प्रजातान्त्रिक आन्दोलनमा बिताएका छन् । पञ्चायती व्यवस्थाविरोधी आन्दोलनका क्रममा उनी पटकपटक जेल परेका थिए । उनी आजीवन अविवाहित रहे । उनको जन्म २००२ सालमा संखुवासभामा भएको थियो ।

पहाडीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको छ । पहाडीप्रति अन्तिम श्रद्धाञ्जली दिन काँग्रेस सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा, महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्ण सिटौलासहित ठूलो संख्यामा नेता कार्यकर्ता सानेपा पुगेका थिए । पहाडीको निधनमा काँग्रेस केन्द्रीय समितिको आकस्मिक बैठक शोक प्रस्ताव पारित गरेको छ । पहाडीको पशुपति आर्यघाटमा आजै अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us