मंसिर ४ को निर्वाचन रोक्न वैद्य मोर्चाको जोड

काठमाण्डु टुडे २०७० भदौ १ गते १:२० मा प्रकाशित

काठमाण्डु, १ भदौ । मोहन वैद्य नेतृत्वको नेकपा माओवादी सम्वद्ध साना दलहरुको मोर्चा निर्वाचनमा सहभागी हुन सकारात्मक देखिएको छ ।
बबरमहलस्थित शान्ति कोषको सचिवालयमा शुक्रबार राति भएको वार्तामा मोर्चाले मंसिर ४ मा तोकिएको संविधानसभा निर्वाचन प्रक्रिया स्थगन गरी सर्वपक्षीय सहमतिमा अर्को mohan baidhyaमिति तय गर्न सरकार र उच्चस्तरीय राजनीतिक समिति राजी भए निर्वाचनमा जान तयार रहेको बताएको हो । आफूहरुलाई निर्वाचन तयारीका लागि समय अपुग हुने भएकाले चुनाव सार्नु पर्नेमा उनीहरुको जोड थियो ।
जवाफमा सरकारी टोलीले भने मंसिर ४ को निर्वाचन सफल पार्ने गरी छलफल गर्नुपर्ने बताएको छ । सरकारसँग दोस्रोपल्ट वार्तामा बसेको मोर्चाले तटस्थतापूर्वक निर्वाचन मिति सार्न पहल लिन आग्रह गरेको छ । उच्चस्तरीय राजनीतिक समितिमा रहेका मुख्य चार दलले केही दिनअघि भएको वार्तामा वैद्य मोर्चाका तर्फबाट निर्वाचनमा सहभागी हुने लिखित प्रतिबद्धता आए निर्वाचन मिति सार्न सकिने बताएका थिए ।
वार्तामा आफूहरुले चार दलीय सिण्डिकेटको निर्देशनका आधारमा नचल्न सरकारको ध्यानाकर्षण गराएको मोर्चा आवद्ध सामाजिक लोकतान्त्रिक पार्टी अध्यक्ष पासाङ शेर्पाले बताए । दुवै पक्षले पक्षबीचको वार्ता सकारात्मक भएको बताए पनि सहमतिपत्रमा हस्ताक्षर भने भएन । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेकपा–माओवादीका सचिव देव गुरुङले १८ बुँदे मागबारे आफूहरुले व्याख्या गरेको र वार्ता सकारात्मक भएको बताए ।
आइतबार पुन: वार्तामा बसेर निष्कर्षमा पुग्ने सहमति भएको सरकारी वार्ता टोली सदस्य एवम् सञ्चारमन्त्री माधव पौडेलले जानकारी दिए । मोर्चाले ११ बुँदे राजनीतिक सहमति, २५ बुँदे बाधा अड्काउ फुकाउ आदेश, सरकार र उच्चस्तरीय राजनीतिक समिति खारेज गर्नुपर्ने तथा  ४ मंसिरमा घोषित निर्वाचन मिति सार्नुपर्ने लगायत मागमा अडान कायमै राखेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us