प्रमुख दल र संघीय मोर्चाबीच सहमति

काठमाण्डु टुडे २०७० साउन ३२ गते ३:४० मा प्रकाशित
काठमाण्डु, ३२ साउन । उच्चस्तरीय राजनीतिक समिति र उपेन्द्र यादवको फोरम नेपालसहित आठ दल आबद्ध ‘संघीय लोकतान्त्रिक मोर्चा’ बीच मध्यरातमा ६ बुँदे सहमति भएको छ ।तीन-चार चरणको वार्तापछि मोर्चा निर्वाचनमा सहभागी हुन सहमत भएको हो । करिब सात घन्टा छलफलपछि समिति र मोर्चाबीच सहमति भएको हो । ‘मंसिर ४ गतेको अर्को संविधानसभाको निर्वाचनलाई सक्रिय सहभागितासहित सफल पार्ने’ भन्दै संविधानसभाको सदस्य संख्या ५८५ पुर्‍याउने सहमति भएको छ । प्रत्यक्षमा २४० र समानुपातिक ३३५ लाई कायम राखी मनोनीतको संख्या १० जना सभासद राख्ने सहमति भएको छ । यसअघि २६ जना मनोनीत गर्ने व्यवस्था थियो ।

उच्चस्तरीय राजनीतिक समितिको तर्फबाट एमाओवादी नेता नारायणकाजी श्रेष्ठ र संघीय लोकतान्त्रिक मोर्चाका तर्फबाट परशुराम तामाङले हस्ताक्षर गरेको सहमतिमा अन्य असन्तुष्ट दललाई निर्वाचनमा सहभागी हुन आग्रह गरिएको छ । ‘अन्य सम्पूर्ण राजनीतिक पार्टी र जनसमुदायलाई घोषित संविधानसभाको निर्वाचन स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित ढंगले सफलतापूर्वक सम्पन्न गर्ने दिशामा एकताबद्ध ढंगले अघि बढ्न हार्दिक अपिल गदर्छ,’ सहमतिमा भनिएको छ । निर्वाचनका लागि मतदाता नामावली अध्यावधिक गर्न थप दुई साता बढाउन निर्वाचन आयोगलाई आग्रह गर्ने निर्णय दुवै पक्षले गरेका छन् । यसअघि आयोगले नामावली संकलनका लागि एक साता बढाइसकेको छ ।

उच्चस्तरीय राजनीतिक समितिलाई विस्तार गरी मोर्चाको तर्फबाट मधेसी जनअधिकार फोरमका अध्यक्ष यादवलाई सहभागी गराइनेछ । राजनीतिक समितिमा अन्य राजनीतिक दललाई सामेल गर्न सकिने सहमतिपत्र उल्लेख छ । निर्वाचन क्षेत्र निर्धारण पुरानै कायम राख्ने सहमति भएको छ । सहमतिमा क्षेत्र निर्धारण आयोगको प्रतिवेदनबारे केही उल्लेख गरिएको छैन ।

मंसिर ४ गते निर्वाचन गर्न आवश्यक कानुनी र संवैधानिक व्यवस्था गर्न राष्ट्रपतिलाई आग्रह गर्ने सहमति उनीहरूले गरेका छन् ।

सहमति पछि राजनीतिक समितिका संयोजक पुष्पकमल दाहालले अब निर्वाचन हुने सुनिश्चित भएको बताए । ‘यो सहमतिले निर्वाचन हुने सुनिश्चित भएको छ,’ उनले कान्तिपुरसँग संक्षिप्त प्रतिक्रिया दिँदै भने, ‘देश अब पूरै निर्वाचनमा होमिएको छ । अरू असन्तुष्ट दल पनि निर्वाचनमा आउने विश्वास बढेको छ ।

सहमतिपछि मोर्चाको एक घटक फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले अब चुनावी अभियानमा सक्रिय हुने बताए । ‘मंसिर ४ मा चुनाव गर्न मोर्चा सक्रिय भएर लाग्नेछ,’ यादवले कान्तिपुरसित भने, ‘अब देशभरि औपचारिक रूपमा चुनावी अभियान सुरु गर्छौं ।’ उनले चुनावसम्मै मोर्चा सक्रिय हुने बताए ।

एमाले नेता रघु पन्तले मोर्चासँगको सहमतिपछि नेकपा-माओवादीसँग कुरा मिल्ने विश्वास व्यक्त गरे । संघीय मोर्चाले चुनावी सरकारका प्रमुख खिलराज रेग्मीको राजीनामा गर्ने माग छाडेको छ ।

चैतमा नै मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीसमक्ष १३ बुँदे माग प्रस्तुत गरे पनि संघीय मोर्चाले पछिल्लो समयमा उच्चस्तरीय राजनीतिक समितिसँगको वार्तामा १३ बाट झारेर सहमतिका लागि ६ बुँदे बटमलाइन प्रस्तुत गरेको थियो ।

संघीय मोर्चामा यादव नेतृत्वको मधेसी जनअधिकार फोरम नेपाल, शरतसंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टी -रामसपा), ताम्सालिङ नेपाल राष्ट्रिय दल, राष्ट्रिय जनमुक्ति पार्टी, खम्बुवान स्वायत्त राज्यपरिषद्, नेपाल शान्ति समाज पार्टीलगायत छन् ।

कान्तिपुर दैनिकबाट

 

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us