सैनिक बढुवामा आयोगको सहमति

काठमाण्डु टुडे २०७० साउन २१ गते ९:२७ मा प्रकाशित

काठमाडौँ, २१ साउन । निर्वाचन आचारसंहिताका कारण केही समय रोकिएको नेपाली सेनाका उच्च अधिकृतलगायतको बढुवा प्रक्रिया अघि बढ्ने भएको छ ।

आयोगले बढुवा प्रक्रिया अघि बढाउन सहमति दिएपछि सेनाले रिक्त पद पूर्तिको तयारी थालेको समाचार कान्तिपुर दैनिकले छापेको छ । रक्षा मन्त्रालयका प्रवक्ता सहसचिव द्वारिका आचार्यले आयोगले बढुवा प्रक्रिया अघि बढाउन सहमति दिएको बताए । ‘रिक्त पद पूर्ति गर्नुपर्ने भएकाले यो नियमित बढुवाअन्तर्गत पर्छ । तर आचारसंहिता लागू भइसकेकाले आयोगसँग सहमति मागिएको हो । सहमति आइसकेको छ, अब प्रक्रिया अघि बढ्छ,’ उनले भने ।

आचारसंहिताका कारण सैनिक अधिकृतको विदेशमा हुने तालिममा पठाउनै समस्या परेको रक्षाले जनायो । आयोगको सहमतिपछि अब ती अवरोध फुकेको छ । सेनामा प्रधानसेनापतिपछिको दुई रथी पदमध्ये एक रिक्त छ । रथी नेपालभूषण चन्दले गत असार २८ गते दुई वर्षे सेवाअवधि पूरा गरी अवकाश पाएपछि एक रथी पद रिक्त भएको हो ।
विशिष्ट श्रेणीको दुई उपरथी पद पनि रिक्त छन् । महेशविक्रम कार्कीले असार १५ र रमेश विष्टले असार १८ मा अवकाश पाएपछि यी पद रिक्त भएका हुन् । एक रथीमा बढुवापछि थप एक उपरथी पद रिक्त हुनेछ । सैनिक मुख्यालय जंगीअड्डाले रथीमा वरिष्ठ उपरथी पवनबहादुर पांडेलाई बढुवा गर्ने तयारी अघि बढाएको स्रोतले बतायो ।

पांडे हाल सेनामा महत्वपूर्ण मानिने युद्धकार्य तथा व्यवस्था महानिर्देशनालयका प्रमुख छन् । उनको बढुवापछि तीन उपरथी पद रिक्त हुनेछन् । उपरथीमा भने वरिष्ठता मिचिने अवस्था रहेको उच्च सैनिकस्रोतले बतायो । वरीयताक्रममा रमिन्द्र छेत्री, प्रदीपबहादुर सिंह, धनिदास कार्की, अजितसिंह ठकुरी, हेम खत्री, पदमविलास कार्की, विजय मोक्तान, हिमालय थापा, हेमन्तराज कुंवर छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us