पूर्वप्रधानमन्त्री श्रेष्ठको निधन

काठमाण्डु टुडे २०७० साउन ३१ गते ४:४५ मा प्रकाशित

काठमाण्डु ३१ : नयाँ दिल्लीबाट स्वदेश फर्काइएको ४८ घण्टा भित्रै पूर्व प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठको बिहिवार बिहान ३ बजे थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको छ ।

जीवनका अन्तिम क्षण आफनै माटोमा बिताउने श्रेष्ठको चाहना पूरा गर्न परिवारका सदस्यहरुले मंगलवार राती एयर एम्बुलेन्सबाट काठमाण्डु ल्याएका थिए । फोक्सोको क्यान्सर र निमोनियाबाट पीडित ७१ बर्षीय श्रेष्ठलाई करीव तीन महिनादेखि भारतको हरियाणास्थित मेदान्त मेडिसिटी अस्पतालमा उपचार गराइदै आएको थियो। दुई चरणको केमो दिइए पनि तेस्रो चरणको केमो दिन संभव नभएपछि श्रेष्ठले स्वदेश फर्कने इच्छा व्यक्त गरेका थिए ।

निमोनियाको संक्रमण देखिएपछि गत बैशाख पहिलो साता श्रेष्ठलाई हिमाल अस्प्तालमा उपचारका क्रममा क्यान्सर भएको पुष्टी भएको थियो । त्यसपछि उनलाई गत जेठ ४ गते मेदान्त सिटी अस्पताल लगिएको थियो । सरकारले गत साउन ७ गते श्रेष्ठको उपचारका लागि पाँच लाख रुपैया उपलब्ध गराउने निर्णय गरेपनि त्यो रकम निधन हुने वेलासम्म प्राप्त भएको थिएन ।

श्रेष्ठको उपचारका लागि जनस्तरबाट संकलन गरिएको पाँच लाख रुपैया गायक सञ्जय श्रेष्ठले बुधवार छोरा सञ्चय र बुहारी बबितालाई नर्भिक अस्पतालमा हस्तान्तरण गरेका थिए । श्रेष्ठका श्रीमती,तीन छोरा र एक छोरी छन ।

marichman

‘राष्ट्रवादी शक्ति एक हुनु पर्छ । मुलुकलाई सिक्किमीकरण हुनबाट बचाउनु पर्छ त्यसका लागि सबैले आ आफनो ठाउँबाट योगदान गर्नु पर्छ’ जीवनका अन्तिम क्षणमा यस्ता अभिव्यक्ति दिदै आएका ७१ बर्षीय श्रेष्ठ चार दिन यता बोल्न र खान नसकी अचेत अवस्थामा थिए । ०४६ मा भारतले नुन तेल लगायतका अत्यावश्यक बस्तुको आयात माथि प्रतिबन्ध लगाएर पारबाहन सन्धी सम्झौता विवादमा परेको वेला श्रेष्ठले अडान लिएका थिए ।

०४६ को जनआन्दोलन उत्कर्षमा पुगेको वेला तत्कालीन राजा बिरेन्द्रले श्रेष्ठलाई हटाएर लोकेन्द्रबहादुर चन्दलाई प्रधानमन्त्री बनाएका थिए । राष्ट्रवादी छवीका श्रेष्ठ ०४३ असार १ देखि ०४६ चैत २४ सम्म पञ्चायती व्यवस्थामा प्रधानमन्त्री थिए । श्रेष्ठ नेवार समुदायका पहिलो प्रधानमन्त्री पनि हुन । २०३८ देखि ०४३ सम्म राष्ट्रिय पञ्चायतका अध्यक्ष रहेका श्रेष्ठले त्यतिवेला बिदेश भ्रमणका लागि आएका अवसर रद्द गरेका थिए । सल्यानको खलंगास्थित त्रिभुवन जनता माविका प्रधानाध्यापक श्रेष्ठले ०३३ सालपछि पञ्चायती राजनीति शुरु गरेका थिए । ०४६ सालपछि गुमनाम रहदै आएका श्रेष्ठले ०५६ को निर्वाचनमा स्वतन्त्र उमेदवार बनेका थिए । सो निर्वाचनबाट पराजित भएपछि गाई र कुखुरा पालन गरी बसेका श्रेष्ठ सक्रिय राजनीतिमा नरहे पनि चासो भने राख्दै आएका थिए । राप्रपा नेपालसहित बिभिन्न राजनीतिक दलले आफनो पार्टीमा प्रवेश गराउन निकै मेहनत गर्दा पनि पछिल्लो चरणमा श्रेष्ठले आफूलाई दलीय राजनीतिबाट बाहिरै राखेका थिए ।

अन्त्येष्टिअघि दिनभरजसो श्रेष्ठको पार्थिव शरीर निजी निवास धापासीमा राखिएको थियो । श्रेष्ठप्रति श्रद्धाञ्जली दिन मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मी, गृहमन्त्री माधव घिमिरे, एकीकृत माओवादी अध्यक्ष प्रचण्ड, नेता बाबुराम भट्टराई, काँग्रेस वरिष्ठ नेता शेरबहादुर देउवा, महामन्त्री प्रकाशमान सिंह, एमाले अध्यक्ष झलनाथ खनाल, वरिष्ठ नेता माधव नेपाल, उपाध्यक्ष बामदेव गौतम, महासचिव ईश्वर पोखरेल, नेकपा–माओवादी अध्यक्ष मोहन वैद्य, उपाध्यक्ष सिपी गजुरेल, सचिव देव गुरुङ, राप्रपा अध्यक्ष सूर्यबहादुर थापा, नेताहरू पशुपतिशम्शेर राणा र प्रकाशचन्द्र लोहनी, राप्रपा नेपालका अध्यक्ष कमल थापालगायत नेता श्रेष्ठ निवास पुगेका थिए ।

श्रेष्ठको बिहीबारै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us