सुशील पछि हट्दा भएन सहमति

काठमाण्डु टुडे २०७० साउन ३० गते १७:३८ मा प्रकाशित

काठमाण्डु ३० साउन : नेपाली काँग्रेसका सभापति सुशील कोइराला पूर्वसमझदारीबाट पछि हटेका Sushil_koiralaकारण उपेन्द्र यादव नेतृत्वको मोर्चासँगको वार्ता विनानिष्कर्षमा टुंगिएको छ ।

यादव नेतृत्वको मोर्चासँग बुधवार नै सहमति गर्ने तयारीका साथ शुरु भएको वार्ता कोइरालाले समानुपातिक निर्वाचन प्रणाली अन्तर्गतको प्रतिशत बढाउन नमानेपछि विना निष्कर्ष टुंगिएको हो ।
उच्चस्तरिय राजनीतिक समितिका शिर्ष नेतृत्व तहमा यसअघि मिश्रित निर्वाचन प्रणाली अवलम्बन गर्दा ४२ प्रतिशत प्रत्यक्ष र ५८ प्रतिशत समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्ने,निर्वाचन क्षेत्र निर्धारणको बिषयलाई यादवले चुनावी मुद्दा मात्रै बनाउने,छुटेका मतदाताका लागि सात दिन समय थप्ने,यादव नेतृत्वको मोर्चालाई पनि उच्चस्तरिय राजनीतिक समितिमा सहभागी गराउने समझदारी भएको थियो ।

स्रोतका अनुसार आफूसहित बसेर यसअघि भएको समझदारीलाई कोइरालाले बुधवारको बैठकमा असहमति जनाएपछि यादव नेतृत्वको मोर्चासँगको वार्ता विना निष्कर्ष टुंगिएको हो ।
समावेशीको मुद्दामा पनि मधेशी र पहाडीलाई एउटै नियम लगाउनु पर्नेमा एमाले नेता केपीले अडान लिएपछि तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर आक्रोशित भएका थिए । स्रोतका अनुसार मधेशी समुदायका लागि संम्बैधानिक रुपमा छुटयाइएको व्यवस्था पहाडी समुदायको हकमा पनि लागू हुनु पर्ने ओलीको तर्क थियो ।

स्रोतले भन्यो ‘केपी ओली र महन्थका वीचमा झगडा नै परेको थियो ।’ उच्चस्तरिय राजनीतिक समितिको कार्यालय नयाँबानेश्वरमा अपरान्ह भएको वार्तामा निष्कर्ष निस्कन नसकेपछि समिति र निर्वाचन प्रक्रियामा असहमत दलहरु वीचको वार्तालाई जारी राख्ने समझदारीका साथ टुंगिएको हो । वार्तापछि काँग्रेस नेता अर्जुननरसिंह केसीले मोर्चाका मागबारे उच्चस्तरीय समितिमा आन्तरिक छलफल गरी बिहीबार साँझ ५ बजे पुनः वार्तामा बस्ने समझदारी भएको जानकारी दिए ।
त्यसअघि भएको वार्तामा नेकपा–माओवादी निर्वाचनमा भाग लिने सुनिश्चित आधार प्रस्तुत गरेमा निर्वाचनको मिति सार्न पनि तयार रहने चार दलका नेताहरुले बताएका थिए । निर्वाचनमा सहभागी हुने नहुने भन्ने आधारमा माओवादीका मागमा लचिलो हुने नेताहरुले जनाएका थिए ।

समितिका संयोजक प्रचण्डले यस्तो बिषयलाई चाँडो टुंग्याउनु पर्नेमा जोड दिएका थिए भने एमाले अध्यक्ष झलनाथ खनालले प्रचण्डको भनाईमा सहमति जनाएका थिए । बैठकपछि एमाले नेता रघुजी पन्तले अघिल्लो दिनको तुलनामा माओवादी लचिलो भएको र चुनावमा जान तयार रहेको जानकारी दिए । यस्तै मोर्चाका तर्फबाट माओवादी सचिव देव गुरुङले आगामी सविधानसभाबाट संविधान बन्ने ज्ञारेन्टी भए मंसिरको निर्वाचनमा जान पनि आफूहरु तयार रहेको बताए ।
मुलुकलाई निकास दिन निर्वाचन अपरिहार्य
राजनीतिक दलका शीर्ष नेताहरुले संविधानसभाबाट संविधान बनाएर मुलुकलाई निकास दिन निर्वाचन अपरिहार्य रहेको बताएका छन् । पूर्वसांसद मन्चले बुधवार काठमाण्डुमा आयोजना गरेको कार्यक्रममा सहभागी शीर्ष नेताहरुले निर्धारित मितिमै चुनाव गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा एकीकृत माओदी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहमतिको साझा बिन्दु पहिल्याएर निर्वाचन मार्फत् मुलुकलाई निकास दिनुपर्ने बताए । काँग्रेस सभापति सुशील कोइरालाले चुनाव नै लोकतन्त्रको मुटु भएकाले निर्धारित मितिमै निर्वाचन गर्नुपर्ने बताए ।

एमाले अध्यक्ष झलनाथ खनालले निर्वाचनको विकल्प नभएकाले कुनै पनि हालतमा मंसिर ४ गतेको निर्वाचन नरोकिने धारणा व्यक्त गरे । सरकारको विकल्प खोज्न थाले निर्वाचन अलपत्र पर्ने भएकाले यही सरकारले निर्वाचन सम्पन्न गर्ने अध्यक्ष खनालको भनाइ थियो । मधेसी मोर्चाका संयोजक विजयकुमार गच्छदारले सबै दलको सहभागितामा मंसिर ४ गते नै निष्पक्ष चुनाव हुनैपर्ने धारणा राखे ।

यस्तै नेकपा–माओवादी अध्यक्ष मोहन वैद्यले निर्वाचनबाटै निकास निकाल्नु पर्नेमा आफूहरु पनि सहमत रहेको बताउँदै त्यसैका लागि आफूहरु वार्तामा बसेको जानकारी दिए । बैद्यले वार्ताबाट कोही पनि पछि हट्न नहुनेसमेत बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us