जर्मनीमा ५० लाख दक्ष जनशक्ति अभाव हुदै

काठमाण्डु टुडे २०७० भदौ ४ गते ३:५१ मा प्रकाशित

जर्मनीमा आगामी १२ बर्षभित्र करीव ५० लाख भन्दा बढी दक्ष जनशक्तिको अभाव हुने देखिएको छ । जर्मनीमा आगामी सन २०२५ सम्म ५० लाख ४० हजार दक्ष जनशक्तिको अभाव हुने आर्थिक बिकास तथा सहकार्यका लागि संगठन (ओइसीडी)को अध्ययनले देखाएको हो । सो अध्ययनमा स्वदेशी कामदारको ढल्कदो उमेरका कारण जर्मनीले दक्ष आप्रवासीको संख्या बृद्धि गर्नु पर्ने प्रतिवेदन सार्वजनिक गरेको हो ।
ओइसीडीसँग आबद्ध ३४ मुलुक मध्ये दक्ष आप्रवासी कामदारका वारेमा जर्मनीले लिएको नीति अलिक खुला छ । नर्स वा व्यवसायी जस्ता कामदार भित्रयाउदै आएको जर्मनीलाई ओइसीडीले आवश्यकता अनुसार अन्य पेशाका कामदार बृद्धि गर्न सुझाव दिएको हो । ती कामदार यूरोपेली यूनियन भित्र र बाहिर दुवैतिरबाट लिन सक्ने सल्लाह ओइसीडीले जर्मनीलाई दिएको छ । हाल इयूमा आबद्ध मुलुकबाट मात्र बार्षिक करीव २५ हजार कामदार जर्मनी जाने गरेका छन । बिश्वव्यापी बित्तिय संकट आएदेखि नै जर्मनीमा कामदार आउने क्रम बढिरहेको छ । जर्मनीका केहि कम्पनीहरुले अत्यावश्यक मानिएका इन्जिनियर स्वास्थ्य क्षेत्रका प्राविधिक स्पेन र पोर्चुगलबाट ल्याउन भर्ती अभियान नै सञ्चालन गरेका थिए ।
जर्मन भाषा जान्नु पर्ने बिशेष योग्यता भएकाहरुको मात्र माग भएकोले जर्मनी कामका लागि आकर्षक गन्तव्य बन्न सकेको छैन । प्रतिवेदनले बिदेशी दक्ष जनशक्ति ल्याउनका लागि आकर्षक प्याकेज ल्याउनु पर्ने सुझाव पनि जर्मनीलाई दिएको छ । जर्मन चान्सलर एञ्जेला मर्केल नेतृत्वको सरकाले दक्ष जनशक्तिको योग्यता पहिचान गर्नका लागि नयाँ प्रक्रियाको थालनी भने गरिसकेको छ । एजेन्सी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us