सारश्वर घटनाको स्थलगत रिपोर्ट

काठमाण्डु टुडे २०७० साउन २७ गते १६:४६ मा प्रकाशित

साउन १९ गते सिराहाको सारश्वर गाविस वडा नं. २ स्थित सारश्वरनाथ महादेव मंन्दिरमा जल अर्पण गर्नका लागि विभिन्न जिल्लाबाट आएका भक्तजन (बम)हरुको धार्मिक आस्थामा आघात पर्ने शब्दहरुको प्रयोग गरिएकोमा भक्तालुहरुले आपत्ति जनाए । साउन २२ गते विहान ८ बजे समस्या समाधानका लागि हिन्दु र मुस्लिम समुदायका व्यक्तिहरुलाई छलफलमा बोलाइयो ।
सो छलफलमा मुस्लिम समुदायका कुनै पनि व्यक्ति सहभागी भएनन । सोही गाउ बस्ने केही युवाहरु प्रहरीलाई संगै लिई बोलाउन जादा मुस्लिम समुदायका तर्फबाट हाते हतियारले प्रहार गरी एकजनालाई टाउको, पाखुरा र पेटमा काटेपछि अन्य युवाहरुसंग पनि झडप भयो । झडपमा परी ६ जना घाईते भए । ती मध्ये एकजनालाई सिरहा जिल्ला अस्पतालले धरान सिफारिस गरेको थियो । उनको अहिले पनि उपचार भई रहेको छ भने बाकी सामान्य उपचारपछि घर फर्किएका छन । त्यसपछि त्यस गाउमा प्रहरीले नियमित निगरानी गर्दै आईरहेका थिए । घटनाका आरोपित तीनजनालाई प्रहरीले वुधवार पक्राउ गरेको थियो ।
प्रहरीको अगुवाईमा पुनः यस्तो घटना दोहोरिन नदिन सोमबार पुनः भक्तालुहरुले यस्तो अवस्थाको सामना नगर्नुपरोस भनि शुक्रवार हिन्दु र मुस्लिम समुदायका व्यक्तिहरु छलफलमा बस्ने निर्णय गरिएको थियो । नेपाल प्रहरी, सिरहा जिल्ला प्रहरी कार्यालय प्रहरी उपरिक्षक पूर्ण चन्द्र जोशीको कमाण्डमा शुक्रवार विहानै देखि दूई सय प्रहरीको उपस्थिती थियो । तर यस विषयमा दुवै समुदाय छलफलमा बस्नु अघि सारस्वर गाविसको चारैतिरबाट विभिन्न गाविसका व्यक्तिहरुले मुस्लिम समुदायको बसोवास क्षेत्र वडा नं. ३, र ४ मा चारैतिरबाट आक्रमण गरेका थिए । प्रहरीले एकातिर लखेटदा अर्कोतिरबाट अर्को समूह आउने गरेको प्रहरी उपरिक्षक पुर्ण चन्द्र जोशीले बताए । वडा नं. ४ स्थित बाटो छेउका दुईबटा घर र गल्लीमा भएका २२ वटा जति घरमा तोडफोड र आगजनी गरेको घटनास्थलको अवलोकनबाट देखिएको छ । समग्रमा करीव ३९ घर तोडफोड भएका छन । अवलोकनका क्रममा तोडफोड भएको वस्तीमा कुनै पनि घरमा महिला तथा बालबालिकाको उपस्थिति पाईएन ।
अवलोकनका क्रममा मुस्लिम समुदायकाको घर भएको क्षेत्रमा प्रहरीले हिन्दू समुदायका व्यक्तिहरुलाई तितरवितर गर्नका लागि वडा नं. ६ र ७ मा घर घरमा पसि महिला तथा पुरुषहरुलाई पिटेको पाईयो । लाटो व्यक्ति, पुजारी, दहि वेच्ने महिलालाई समेत प्रहरीले लठठीले पिटेको पाईयो । लुटपाटमा संलग्न २५ जनालाई पक्राउ गरिएको जानकारी प्रहरी उपरिक्षक पूर्ण चन्द जोशीले दिए । यस झडपमा सामान्य रुपमा एक सय भन्दा बढिलाई चोटपटक लागेको अनुमान गरिएको छ तर अस्पतालमै भर्ना गर्नु पर्ने वा अस्पतालमा गएकाको संख्या नगण्य छ । सामान्य चोटपटक लागेका केही व्यक्तिहरुलाई प्राथमिक उपचार गरेको र आतंकित व्यक्तिहरुलाई एम्बुलेन्समा राखेर जिल्ला सदरमुकाम सिरहा र चौहर्वास्थित नेपाल रेडक्रसको भवनमा राखिएको प्रमुख जिल्ला अधिकारी अनिल ठाकुरले जानकारी दिए । हिन्दु र मुस्लिम दुवै समुदायले घटनाको दोष नेपाल प्रहरी र प्रशासनलाई दिईरहेको पाईयो ।
दुवै सम्प्रदाय बीच सदभाव कायम गर्नका लागि स्थानीय रुपमा नेपाल प्रहरी र राजनीतिक दलहरुले पहल गर्नु पर्ने,विस्थापितहरुको लागि मानवीय सहयोगका साथै खाद्य पदार्थ तथा सुरक्षाको व्यवस्था र छिटै पूर्नस्थापनाको पहल गरिनुपर्ने,शारिरीक तथा भौतिक रुपमा क्षति भएका परिवारहरुलाई तत्काल राहत उपलब्ध गराउनु पर्ने र उनीहरुको निष्पक्ष रुपमा लगत राख्नु पर्ने,आउने सोमबार फेरी यस्तो घटना दोहरिन नदिनका लागि सुरक्षा र अनुगमनको व्यवस्था गर्नु पर्ने,घटनामा दोषि देखिएकालाई कानुन बमोजिम कार्वाही गर्नु पर्ने घटनाको स्थलगत अध्ययन गरेको मानवअधिकारवादी संस्था थर्ड एलायन्सले माग गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us