एसएमएसले बिगार्यो घरबार

काठमाण्डु टुडे २०७० साउन २३ गते १६:४६ मा प्रकाशित

जमुनावर्षा शर्मा

विवाह भएको सात महिनासम्म हाँसिखुसी रहेको सोनु क्षेत्री (नाम परिवर्तन) को पारिवारिक जीवन आठौँ महिनामा पुगेपछि तनावपूर्ण बन्न थाल्यो । ‘प्रिय मैले तिमीलाई अझै भुल्न सकेको छैन ।’ यही एसएमएस थियो जसले उनको सुखी पारिवारिक जीवनलाई दुःखतिर मोडिदियो ।
कुनै केटाको नामबाट आएको उक्त एसएमएस संयोगवश सोनुका श्रीमान्ले पनि पढे । तर, उनले तत्काल कुनै प्रतिक्रिया जनाएनन् । सोनुलाई लाग्यो– श्रीमान्ले यो एसएमएस देखेका छैनन् । उनले हत्तपत्त मेसेज डिलिट गरिन् ।
उनको मोबाइलमा यस्तै एसएमएस निरन्तर आउन थाले । पहिलो मेसेजपछि निगरानीमा रहेको सोनुको मोबाइलमा आएको अर्को मेसेज पनि उनका श्रीमान्ले पढे । त्यसपछि सुरु भयो सुन्दर परिवारमा तनावपूर्ण स्थिति । स्नातक अध्ययनरत सोनु एक बैंकका कर्मचारीसँग आठ महिनाअघि विवाहबन्धनमा बाँधिएकी थिइन् । धुमधामसँग गरिएको मागीविवाहमा उनका माइती पक्ष र घरतिरका सबै खुसी र दङ्ग थिए । तर, विवाहको वर्षगाँठ पुग्न नपाउँदै सोनुको जीवनमा एसएमएसले तनाव ल्याइदियो ।
अहिले श्रीमान्ले सोनुलाई राम्रो व्यवहार गर्दैनन् । बारम्बार श्रीमान्ले एसएमएस पठाउने व्यक्तिको नाम लिएर आफूलाई अभद्र व्यवहार गर्ने गरेको सोनुको भनाइ छ । ‘ऊ मेरो राम्रो साथी मात्र हो, उसले कहिल्यै पनि आफूलाई प्रेमिकाको जस्तो व्यवहार गरेन । तर, विवाह भएपछि भने उसले त्यस्तो कुरा प्रकट गरेको छ,’ सोनु भन्छिन्, ‘यो मेरो वैवाहिक जीवन बिथोल्ने नियत मात्र हो ।’
यो घटनापछि श्रीमान्ले सोनुलाई शङ्का मात्र गर्न थाले । सोनुले आफ्ना श्रीमान्लाई सम्झाउन सकेकी छैनन् । कुनै सम्बन्ध नभई पुरुषले यसरी एसएमएस पठाउन नसक्ने उनका श्रीमान्को दाबी छ ।
तनहुँकी सङ्गीता सोनीको त एसएमएसकै कारण सम्बन्धविच्छेद भएको छ । एक छोरीकी आमा उनी विदेशमा रहेको अपरिचित मान्छेले बारम्बार मेसेज पठाउँदा उनका श्रीमान्ले शङ्का गरे । श्रीमान्ले ‘तँ मेरी नभई अरूकी नै रहिछेस्’ भन्न थालेपछि उनी माइतीको शरणमा पुगिन् । सङ्गीताले अपरिचित व्यक्तिको मेसेजको खुरुखुरु जवाफ फर्काउँदा समस्या बढेको थियो । ‘मैले त साथीको रूपमा पो जवाफ दिएकी हुँ,’ उनको भनाइ छ । तर, श्रीमान्ले कुरा नबुझ्दा सम्बन्ध बिग्रियो र उनी अहिले एक छोरीका साथ माइतीमै बसिरहेकी छिन् ।
प्रविधिको विकाससँगै महिलाले भोग्ने समस्याको स्वरूप पनि बदलिएको छ । इमेल तथा इन्टरनेट र मोबाइलले जसरी मानिसको जीवन सहज बनाएको छ, यसको गलत प्रयोगले केही महिलाको जीवनमा समस्या पनि निम्त्याएको छ ।
२५ वर्ष नाघेकी रमा विकलाई मोबाइलमा आउने एसएमएसले अप्ठ्यारोमा पारेको छ । वैदेशिक रोजगारीबाट फर्किएका श्रीमान्ले मोबाइलमा आएको एसएमएसका कारण उनको चरित्रमाथि शङ्का गर्दै विभिन्न आरोप लगाएपछि पारिवारिक जीवन तनावपूर्ण बनेको छ । बोर्डिङ स्कुलकी शिक्षिका रमालाई उनका केटा साथीले पठाउने गरेका केही एसएमएसलाई लिएर विभिन्न आरोप लगाउँदै श्रीमान्ले दुःख दिन थालेको उनको भनाइ छ । ‘अति सामान्य एसएमएसका विषयमा समेत श्रीमान्ले यो मान्छेले किन सधैँ एसएमएस पठाइरहन्छ भन्छन्,’ उनी भन्छिन्, ‘कतिपय साथीहरूले के छ ? खाना खायौ भनेर सोधेको एसएमएसलाई पनि श्रीमान्ले शङ्का गर्छन् ।’
श्रीमान्बाट मात्र होइन, महिला दाइभाइबाट पनि उत्तिकै शङ्काको घेरामा छन् मोबाइलका कारण । महिलालाई नियन्त्रण मात्र गर्न खोजिन्छ । जनप्रिय क्याम्पसमा प्लस टु अध्ययनरत सीमा चौलागाईं यस्तै नियन्त्रणमा परेकी छिन् । उनीसँग यतिबेला मोबाइल छैन । ‘केटा साथीले पठाएको एसएमएस देखेपछि दाइले खोसिदिनुभयो,’ उनी भन्छिन्, ‘मोबाइलमा फोन आए पनि निगरानी एसएमएस आए पनि निगरानी हुन्छ ।’
मोबाइलले यस्ता थुप्रै घटना निम्त्याएको छ । यसको सबैभन्दा ठूलो मारमा महिला पर्ने गरेका छन् । विवाहित होस् वा अविवाहित महिलाले एसएमएसका कारण तनाव खेप्नुपरेको छ । प्रविधिको दुरुपयोग गर्दै गरिने महिलामाथिका यस्ता हिंसाबारे अधिवक्ता भगवती पहारी भन्छिन्, ‘यो महिलाको व्यक्तिगत स्वतन्त्रतामाथिको हस्तक्षेप हो ।’ व्यक्तिको स्वतन्त्रता सबैभन्दा ठूलो कुरा हो, तर महिलालाई पुरुषले आफ्नो निजी सम्पत्तिका रूपमा लिने गरेकाले यस्ता समस्या आउने गरेका छन् ।’
आफूले विवाह गरेकी श्रीमती कसैसँग बोल्नुहँुदैन, कसैलाई हेर्नुहँुदैन भन्ने मानसिकताले गर्दा महिलाको व्यक्तिगत स्वतन्त्रतामाथि हस्तक्षेप भइरहेको छ । महिलाको इच्छाविपरीत पठाइने यस्ता एसएमएसहरूले महिला हिंसालाई बढावा दिइरहेको छ । अधिवक्ता पहारी भन्छिन्, ‘महिलामाथि हिंसा र पुरुषलाई तानाशाह बनाउने काम भइरहेको छ, यो दण्डनीय अपराधजन्य कार्य हो ।’
पुरुषले अरूको पारिवारिक जीवनको ख्याल नगरी एकतर्फी रूपमा पठाउने यस्ता मेसेजले कतिपय महिलाको परिवार तहसनहस हुने गरेको बताउँछिन् महिला अधिकारकर्मी सवनम शर्मा । समाजमा एकपछि अर्को गर्दै महिलामाथि हुने हिंसाका नयाँ रूप देखिइरहेका छन् । यस्ता घटनाबाट धेरै महिला पीडित भए पनि कानुनी प्रक्रियामा जान भने चाहँदैनन् । धेरैलाई त उजुरी गर्न पाइन्छ भन्ने पनि थाहा छैन । अर्कातिर झन्झटिलो कानुनी प्रक्रियाले झनै निरुत्साहित गरेको छ ।
वैवाहिक नाता विश्वासमा अडिएको हुन्छ । तर, ‘महिलाका हरेक गतिविधिलाई सङ्कुचित मानसिकताले हेर्दा क्षणभरमै परिवारमा विखण्डन आउन सक्छ,’ अधिकारकर्मी शर्माको भनाइ छ ।
मानिसको जीवनलाई सहज बनाउने प्रविधिले अप्ठ्यारो परिस्थितिसमेत सिर्जना गर्न थालेपछि नेपालमा पनि विद्युतीय अपराध नियन्त्रण ऐन, २०६३ कार्यान्वयनमा छ । साइबर अपराध गर्ने व्यक्ति वा समूहलाई कारबाहीको दायरामा ल्याउन नियमावली पनि आइसकेको छ । ऐनको दफा ४७ अनुसार यस्ता अपराध गर्ने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिवाना र पाँच वर्षसम्म कैद सजाय हुने व्यवस्था पनि छ । तर, कानुनी प्रावधानको उपयोग गर्दै यस्ता घटनाका पीडितले प्रहरीसम्म उजुरी नै गर्दैनन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवम् प्रहरी निरीक्षक रवीन्द्र पौडेलका अनुसार मोबाइलमा आउने यस्ता प्रकृतिका मेसेजले धेरै महिला पीडित हुने गरेका छन् । ‘हिजोआज यस्तो समस्या लिएर दैनिक दुई÷तीनवटा उजुरी आइरहन्छन्,’ उनी भन्छन्, ‘धेरैजसो उजुरीकर्ता छलफलमै मेलमिलाप गर्न रुचाउँछन् । उनीहरूमा कारबाही गराउनेभन्दा पनि अब नदोहोरियोस् भन्ने चाहना हुन्छ ।’
यस्ता समस्या समाधान गर्ने हो भने महिलालाई हेर्ने सामाजिक दृष्टिमा परिवर्तन हुनुपर्ने उनको भनाइ छ । साथै महिलाले पनि सामाजिक, आर्थिक एवम् राजनीतिक क्षेत्रमा पुरुषसरह अधिकार पाउनुपर्छ । सँगसँगै दोषीलाई कानुनको दायरामा ल्याएर कारबाही नगर्दासम्म यस्ता प्रकारका हिंसा नरोकिने हुँदा महिला स्वयम् पनि जागरुक हुनु आवश्यक छ । संचारिका फिचर सेवा

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us