निर्वाचन बिथोलेरै छाड्ने चेतावनी

काठमाण्डु टुडे २०७० भदौ १५ गते ८:३७ मा प्रकाशित

नवलपरासी, १५ भदौ – मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीका नेता खड्गबहादुर विकले आफूहरुको अनुपस्थितिमा हुन लागेको संविधानसभा निर्वाचन बिथोलेरै छाड्ने चेतावनी दिएका छन् ।
क्रान्तिकारी पत्रकार महासघले शनिबार कावासोतीमा गरेको पत्रकार भेटघाटमा नेता विकाले आफूहरुलाई पाखा लगाएर गरिने निर्वाचनले मुलुकलाई निकास नदिने बताए । चार मंसिरमा घोषित संविधानसभा निर्वाचन जनता र राष्ट्रियताविरुद्धको कमद भएको आरोप विकले लगाए । वर्तमान गैरदलीय सरकारको खारेजी र संविधानसभाबाट संविधान बन्ने ग्यारेण्टी नभएसम्म चिर्वाचन हुनै नदिने उनको भनाइ छ  ।
उनले वर्तमान सरकारलाई चार दलको रबर स्ट्याम्पको संज्ञा दिए । उनले आफूहरु वार्ताबाटै समस्या समाधान गर्ने पक्षमा रहेको दाबी गरे । तर बाह्य शक्तिको इशारा र आफूहरुका मागमा उच्चस्तरीय समितिमा रहेका मुख्य चार दलबीच नै समान धारणा नरहेकाले वार्ता भग भएको उनले उल्लेख गरे । उनले आफूहरुको असहमतिबीच निर्वाचन भए काँग्रेस पहिलो, एमाले दोस्रो र एकीकृत माओवादी तेस्रो हुने दाबी गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us